बैतडी – बैतडीमा प्रहरीले गाँजा फडानी अभियान सञ्चालन गरेको छ । लागु औषधविरुद्धको महाअभियान अन्तर्गत जिल्लाभरी गाँजा फडानी अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
विभिन्न ठाउँमा आँफै उम्रेको र कुनै ठाउँमा स्थानीयहरुले लगाएको गाँजाका बोटहरु नष्ट गर्ने गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । गाँजा लागु औषध भएकाले गाँजा फडानी अभियान सञ्चालन गरिएको उनले बताए । उनले भने ‘पछिल्लो समयमा लागु औषध प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । त्यसलाई नियन्त्रण गर्ने हाम्रो प्रयास जारी रहेको छ ।’
गाँजा लागूऔषध भएकाले त्यसको प्रयोग र कारोबारमा रोक लगाउनका लागि गाँजाका बोट फडानी अभियान शुरु गरिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । उनले भने ‘हाम्रो मातहतका सबै प्रहरी युनिटहरुबाट गाँजा नष्ट अभियान सञ्चालन भइरहेको छ । यसमा समुदायको सहभागिता समेत गराइरहेका छौं ।’
जिल्लामा अहिले सम्म झण्डै एक सय रोपनीमा रहेको गाँजा नष्ट गरिएको प्रहरी निरीक्षक खत्रीले बताए । कुनै ठाउँमा मानिसले लगाएको गाँजा नष्ट गरिएको छ भने कुनै ठाउँमा आँफै उम्रेको गाँजा नष्ट गरिएको छ ।
बैतडीमा लागु औषध विरुद्धको महाअभियान अन्तर्गत वडास्तरीय लागू औषध नियन्त्रण सञ्जाल समेत गठन भइरहेका प्रहरी निरीक्षक खत्रीले बताए ।