Sagun Khabar
घरपरिवार भेट्न नपाउँदै अस्ताए महरा, शोकमा डुब्यो गाउँ 

बैतडी –बैतडीको पाटन नगरपालिका ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महरा अल्पायुमै कहिले नफर्कने गरी अस्ताएपछि अहिले गाउँ शोकमग्न भएको छ । गएराति बसले ठक्कर दिँदा घरपरिवारलाई भेट्ने उनको धोको अधुरै रहेको छ । 

सशस्त्र प्रहरी हवलदार समेत रहेका महरा बाजुराबाट घर फर्किरहेका थिए । खोड्पेमा बसबाट झरिसकेपछि उनी पैदल घर हिँडेका थिए । घर पुग्न ५ मिनेटको बाटो मात्रै बाँकी रहेका बेला उनलाई सुदूरपश्चिम यातायातको ना.८ ख ७९७० नम्बरको बसले ठक्कर दिएपछि उनी सडकमै सधैंका लागि अस्ताएका छन् । 

Atrya hospital

उनको बाटो कुरीरहेका श्रीमति र छोराछोरीका आँखा ओभाएका छैनन् भने गाउँ नै शोकमग्न बनेको स्थानीय प्रेमसिंह भाटले बताए । फोनमा कुराकानी गर्दै सडकमा हिँडिरहेका महरालाई गाडीले ठक्कर दिएको थियो । ‘गाउँको युवा अल्पायु अस्ताएपछि अहिले गाउँमा रुवाबासी चलेको छ । चाडपर्व नजिक आएका बेला भएको घटनाले सबैले विक्षिप्त बनाएको छ ।’भाटले भने ‘घरपरिवार भेटेर भोलिपल्ट ड्युटीमा जाने योजना बनाएका महराको योजना अधुरै रहेको छ ।’
महराको बाटो हेरीरहेकी श्रीमति अनिता महरा, १२ बर्षीय छोरा र १० बर्षीया छोरीको विचल्ली भएको स्थानीयहरुले बताएका छन् । 

महरालाई ठक्कर दिएर भागेको बस र चालकलाई प्रहरीले खोचलेकबाट नियन्त्रणमा लिइसकेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका चालक जनकराज गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

महरालाई ठक्कर दिने बस र चालकको पहिचान भएर प्रहरीले पक्राउ गरेपछि मृतकका आफन्तले अवरुद्ध गरेको दशरथचन्द राजमार्ग पनि सुचारु भइसकेको छ । 

बसको ठक्करबाट मृत्यु भएका महराको शव पोष्टमार्टम गरेर आफन्तले बुझिसकेका छन् । महराको आजै दाहसंस्कार गरिने स्थानीय प्रेमसिंह भाटले बताए । 
 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update