Sagun Khabar
बैतडीको गडदेव आविको नयाँ भवनमा एक बर्षदेखि ताला, विद्यार्थी खुला चौरमा पढ्न बाध्य 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका १ स्थित गडदेव आधारभूत विद्यालयको नयाँ भवन बनेको एक बर्षभन्दा बढी भइसकेको छ । विद्यालयको चार कोठे नयाँ भवन बनेको भएपनि बालबालिकाहरुले बस्न पाएका छैनन् । 

आर्थिक बर्ष २०७८÷७९ सालमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भवन निर्माणका लागि ३६ लाख बजेट विनियोजन भएको थियो । तत्कालिन विद्यालय व्यवस्थापन समितिले भवन निर्माण समिति गठन गरेर भवन निर्माण गराएको थियो । केशवसिंह घटाल अध्यक्ष रहेको समितिले भवन निर्माण गरिसकेपछि पनि विद्यालय भवन प्रयोग गर्न पाएको छैन् । 

विद्यालय भवन निर्माणमा ७२ लाख खर्च भएको र गाउँपालिकाले थप रकम दिने आश्वासन दिएको केशवसिंह घटालको भनाइ रहेको छ । पालिकाबाट थप रकम भुक्तानी नभएको भन्दै उनले विद्यालयको नयाँ भवनमा बर्षदिनदेखि ताला लगाएका छन् । केही दिन बीचमा ताला खोलेपनि फेरी विद्यालय भवनमा ताला लागेको छ । 

Atrya hospital

गडदेव आधारभूत विद्यालयको पुरानो भवन पहिरोले बगाएको र नयाँ भवनमा ताला लागेकाले बालबालिकाहरु खुल्ला चौरमा पठनपाठन गर्न बाध्य भएका विद्यालयका प्रधानाध्यापक निरज जोशीले बताए । विद्यालय भवन उपयोग गर्न नपाएपछि धेरै जसो बालबालिकाहरु विद्यालय छोडेर अन्यत्रका विद्यालयमा गइसकेका छन् । 

कक्षा ५ सम्मको पढाई हुने सो विद्यालयमा अहिले एक सय जना जति विद्यार्थीहरु अध्ययनरत रहेका छन् । चर्को घाम होस् अथवा पानी परेको होस् खुल्ला चौरमा शिक्षण सिकाइ क्रियाकलाप गर्नुपर्ने बाध्यता रही आएको प्रधानाध्यापक जोशीले बताए । उनले भने ‘बालबालिकाहरुलाई पठनपाठनमा निकै असहज भएको छ । खुला चौरमा पढाउनुपर्ने बाध्यता छ । विद्यालयको नयाँ भवन हेरेर चौरमा पढाउनुपर्ने बाध्यता रहेको छ ।’

चर्को घाममा खुलाचौरमा बालबालिकाहरु बस्न नसक्ने भएपनि कुनै दिन विद्यालय समयअघि नै विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको छ । विद्यालयको नयाँ भवन बनेपनि विद्यार्थीहरुले बस्न नपाएपछि अभिभावकहरु समेत निराश भएका छन् । 

विद्यालयको बनेको भवन उपयोग गर्न नपाएपछि बालबालिकाहरुले घाम र बर्षातको समयमा पठनपाठन कार्यबाट वञ्चित हुनुपर्ने अवस्था रही आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिक्मतसिंह घटालले बताए । उनले भने ‘यो विद्यालयमा केशवजीका बच्चाहरु पनि पढीरहेका छन् । मेरो पैसा भुक्तानी भएको छैन् भनेर उहाँले ताला लगाउनुभएको छ । हामीले पालिकासंग पनि यो समस्या समाधानका लागि आग्रह गरेका छौं । तर अहिले सम्म समस्याको समाधान भएको छैन् ।’

यता गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले गडदेव आधारभूत विद्यालयको भवन निर्माणको पैसा पालिकाबाट भुक्तानी भइसकेको दाबी गरे । प्राविधिक रिपोट अनुसार ३६ लाखमा ८ लाख थप भुक्तानी भएको उनले बताए । उनले भने ‘हामीले प्राविधिक रिपोट अनुसार भुक्तानी गर्ने पैसा भुक्तानी गरिसकेका छौं । त्यो बाहेक भुक्तानी गर्न मिल्दैन् ।’

विद्यालयको नयाँ भवनमा लगाएको ताला केही महिना पहिला खुलेको र फेरि ताला लगाएको भन्ने कुरा सुनेको उनले बताए । विद्यालय भवनको ताला खोल्नका लागि अब कानुनी बाटो अपनाइने उनले बताए । 

विद्यालय जस्तो सार्वजनिक संस्थाको भवन निर्माण भएको एक बर्ष बितिसक्दा समेत भवन सञ्चालनमा आएको छैन् । भवन निर्माणको बिषयमा भएको विवादले विद्यार्थीहरुले दुःख पाउनुपर्ने अवस्था रही आएको छ । 

विद्यालयमा देखिएको समस्या समाधान गरी आफ्ना बालबालिकाहरुले विद्यालय भवनमा बस्न पाउनुपर्ने अभिभावकहरुले माग गरेका छन् । 
 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update