Sagun Khabar
बैतडीमा शुरु भयो ‘लागू औषध विरुद्धको महाअभियान’

बैतडी –बैतडीमा पनि ‘लागू औषध विरुद्धको महाअभियान’शुरु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कार्यक्रम अनुसार बैतडीमा पनि अभियान शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

अभियान अन्तर्गत शुक्रबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाहरुसंग छलफल समेत भएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्लास्तरीय लागू औषध नियन्त्रण सञ्जाल समितिको बैठक बसेर लागू औषध नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्रहरी निरीक्षक खत्रीले बताए । 

Atrya hospital

लागू औषध विरुद्धको महाअभियान अन्तर्गत जिल्लाभरी गाँजा फडानी गर्ने, लागू औषध विरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने र सूचना आदानप्रदान गर्ने तयारी भइरहेको उनले बताए । 

जिल्लाका ८४ ओटै वडामा अभियान अन्तर्गत लागू औषध नियन्त्रण सञ्जाल समितिहरु गठन गर्ने कार्यक्रम रहेको प्रहरी निरीक्षक खत्रीले बताए । 

लागू औषधका कारण बालबालिकादेखि जेष्ठ नागरिक समेत प्रभावित भइरहेकाले लागू औषध विरुद्धको महाअभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए । उनले भने ‘हामीले लागू औषध नियन्त्रणका लागि अभियान सञ्चालन गरेका छौं । लागू औषधले समाजमा पारीरहेको असरका बारेमा जानकारी दिने, लागू औषधको दुव्यर्सनमा फसेकाहरुलाई त्यसबाट रोक्ने काम गर्छौं ।’

लागू औषधका कारण समाजमा विभिन्न खालका अपराधहरु हुने भएकाले लागू औषध नियन्त्रणमा सबैले सहयोग गर्नुपर्नेमा प्रहरी नायब उपरीक्षक गिरीले जोड दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update