बैतडी –नेपाल प्रहरीले निबन्ध लेखन प्रतियोगिता गर्ने भएको छ । ६८औँ प्रहरी दिवसको असवर पारेर ‘समुदायमा नेपाल प्रहरीको भूमिका’ विषयमा निबन्ध लेखन प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीहरूलाई सहभागिताका लागि स्थानीय तहलाई परिपत्र गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक गिरीले बताए ।
प्रतियोगितामा कक्षा ८ देखि १० सम्म विद्यार्थीहरुलाई सहभागी गराइने प्रहरी नायब उपरीक्षक गिरीले बताए । त्यसका लागि सम्बन्धित स्थानीय तह वा सम्बन्धित जिल्ला प्रहरी कार्यायमा यही असोज १० गतेभित्रै नाम दर्ता गरिसक्नु पर्ने छ । असजो १२ गते बिहान ८ देखि ११ बजेसम्म निबन्ध लेखनको लिखित परिक्षा हुने छ । निबन्ध १५ सय देखि २ हजार शब्दमा लेख्नुपर्ने छ ।
प्रतियोगितामा सहभागी हुने मध्ये प्रथम,द्वितीय र तृतीय स्थान प्राप्त गर्नेलाई जिल्लाबाट पुरस्कृत गर्ने कार्यक्रम रहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । मूल्यांकन समितिको निर्णयको आधारमा प्रथम हुने विद्यार्थीको निबन्धसहितको विवरण प्रदेशस्तरीय प्रतियोगितामा सहभागिताका लागि प्रदेश प्रहरी कार्यालयमा पठाइने उनले बताए । देशभरीबाट प्रथम स्थान हासिल गर्ने विद्यार्थीलाई २५ हजार नगदसहित सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
जिल्लामा भएको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई असोज अन्तिम साता प्रहरी दिवसको अवसरमा पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको डिएसपी गिरीले बताए ।