
बैतडी –बैतडीमा बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छन् । बारुद बनाउन प्रयोग गरिने करिब १२ किलो कच्चा पर्दाथसहित एक महिलालाई झुलाघाटबाट बिहिबार पक्राउ गरिएको हो ।
झुलाघाटबाट गोठलापानीतर्फ आउदै गरेको से १ ज ४०९ नम्बरको जिपमा सवार बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाण्डौकी ४२ वर्षीया पुष्पा बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।
बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ केजी र बारुद नै बनाउन प्रयोग गरिने सुरा जस्तो देखिने पदार्थ १० केजी गरेर १२ केजी अवैध पदार्थ फेला परेको उनले बताए ।
सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्नेक्रममा आलुको बोराभित्र लुकाइछिपाइ ल्याउदै गरेको अवस्थामा बारुद बनाउने उक्त कच्चा पदार्थ सहित पुष्पा बोहरालाई पक्राउ गरिएको खत्रीले बताए ।
यो बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।