
बैतडी–कञ्चनपुरमा स्वास्थ्यकर्मीमाथि हातपात गरिएको घटनाको बैतडीका स्वास्थ्यकर्मीहरुले विरोध गरेका छन् । जिल्ला अस्पताल बैतडीमा कार्यरत स्वास्थ्यकर्मीहरुले आज प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कारवाहीको माग गरेका हुन् ।
कञ्चनपुरको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अहेव नरेन्द्रप्रसाद गैरैमाथि ड्युटीकै समयमा असोज २ गते राति आक्रमण भएको बिषयमा बैतडीका स्वास्थ्यकर्मीहरुको समेत ध्यानाकर्षण भएको प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
बारम्बार स्वास्थ्यकर्मीहरुमाथि आक्रमणका घटना हुनुले असुरक्षा महसुस भएको भन्दै स्वास्थ्यकर्मीहरुले ज्ञापन पत्र बुझाएको जिल्ला अस्पताल बैतडीका हेल्थ असिष्टेन्ट जगदीश कपाडीले बताए ।
स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई पक्राउ गरी कानुन अनुसार कारवाहीको माग गर्दै अस्पतालमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मीहरुले हातमा कालोपट्टी बाँधेर काम गरेको कपाडीले बताए । पटक पटक स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुनुले असुरक्षा बढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।