Sagun Khabar
विद्यालय बन्द गराएर सुदूरका शिक्षकहरु पनि आन्दोलनमा, पठनपाठन प्रभावित 

बैतडी –सदनमा दर्ता गराएको शिक्षा विधेयकको विरुद्धमा देशभरका शिक्षकहरु आन्दोलित भएका छन् । सामुदायिक विद्यालयहरु बन्द गराएर सुदूरपश्चिमका शिक्षकहरु पनि काठमाण्डौं केन्द्रित आन्दोलनमा सरीक भएका छन् । शिक्षकहरु आन्दोलनमा सरीक भएपछि सुदूरपश्चिमका विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । 

शिक्षा विधेयकले सार्वजनिक शिक्षा प्रणाली तहसनहस गर्ने देखिएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको नेपाल शिक्षक संघ बैतडीका अध्यक्ष गणेशसिंह भण्डारीले बताए । बैतडीबाट पनि पालैपालो शिक्षकहरु आन्दोलनमा सहभागी भएका उनले बताए । 

Atrya hospital

सरकारले संसदमा प्रस्तुत गरेको प्रस्तावित विद्यालय शिक्षा विधेयकमा १८ बुँदे असहमति राखेर शिक्षक महासंघको घोषणाअनुसार आन्दोलनका लागि शिक्षकहरू काठमाडौ पुगेपछि सुदूरपश्चिमका ९ लाख बढी विद्यार्थीहरुको पठनपाठन प्रभावित हुने देखिएको छ । 

शिक्षकहरुको आन्दोलनका कारण बैतडीमा ५४० सामुदायिक विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । आजदेखि अनिश्चितकालिन विद्यालय बन्द गरेर आफूहरु आन्दोलनमा उत्रेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका सचिव धनबहादुर महराले बताए । विधेयक संशोधनको मागसहित आफूहरु आन्दोलनमा उत्रेको उनले बताए । 

शिक्षकहरुको आन्दोलनका कारण बझाङका ४४८ सामुदायिक विद्यालय, डडेल्धुराका २४७ सामुदायिक विद्यालय, दार्चुलाका ३४३ सामुदायिक विद्यालय र डोटीका ३८० सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ । 

यस्तै यस्तै अछामका ४७१, बाजुरा २३८,कञ्चनपुरका २६१ सामुदायिक विद्यालय र कैलालीका ५६६ सामुदायिक विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । 

शिक्षकहरुले काठमाण्डौं केन्द्रित आन्दोलन गरिरहँदा काठमाण्डौं जान नसकेका शिक्षकहरुले स्थानीयस्तरमा समेत आन्दोलन गर्ने जनाएका छन् । शिक्षकहरुले नजिकका वडा तथा विद्यालयमा भेला भएर आन्दोलनमा सरीक हुने कार्यक्रम रहेको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्र चन्दले बताए । उनले भने ‘सदनमा दर्ता भएको शिक्षा विधेयक शिक्षा क्षेत्र तहसनहस पार्ने किसिमको छ । त्यसैले हामीले आन्दोलन थालेका हौं ।’
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update