Sagun Khabar
बैतडीमा सञ्चालित ब्याडमिन्टन प्रतियोगितामा कैलाश थापा र आनन्द थापाको जोडी प्रथम 

बैतडी –संविधान दिवसको अवसरमा पारेर बैतडी सदरमुकाममा आयोजना गरिएको खुल्ला डबल ब्याडमिन्टन प्रतियोगितामा बैतडीको दशरथचन्द नगरपालिकाका कैलाश थापा र आनन्द थापाको जोडी प्रथम भएको छ । 

नगर खेलकुद विकास समितिको बार्षिक कार्यतालिका अनुसार दशरथचन्द नगरपालिकाको आयोजना र कर्मचारी मिलन केन्द्रको समन्व्यमा असोज १ गतेदेखि शुरु भएको प्रतियोगिता आज समापन भएको हो । 

प्रतियोगितामा सन्तोष कनौजीया र लोकेश ठगुन्नाको जोडी दोश्रो भएको छ । यस्तै चन्द्रसिंह डोबाल र भवानी भट्ट तथा अंकित जोशी र हरिश भण्डारीको जोडी तेश्रो भएको छ । 

Atrya hospital

प्रतियोगितामा सीमावर्ती भारतीय क्षेत्र झुलाघाट र पिथौरागढका खेलाडीसहित बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका ३१ जोडीको सहभागिता रहेको नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दले बताए । 

प्रतियोगितामा प्रथम हुने जोडीलाई नगद १५ हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । दोश्रो हुने जोडीलाई नगद १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको चन्दले बताए । 

प्रतियोगितामा तेश्रो हुने दुवै जोडीलाई नगद ५÷५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ । 

यस्तै प्रतियोगितामा उदीयमान खेलाडीको रुपमा संगम ठगुन्ना, सुशान्त राना, लखन थापा र रितेश केसीलाई १÷१ हजार नगद पुरस्कार प्रदान गरिएको छ । यस्तै सिनियर खेलाडी सरपसिंह ठगुन्नालाई पनि १ हजार पुरस्कार प्रदान गरिएको अध्यक्ष चन्दले बताए । 

दशरथचन्द नगर खेलकुद विकास समितिका अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको प्रतियोगितामा समापन समारोहमा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी (लख्खाभाइ) प्रमुख अतिथी रहेका थिए । प्रतियोगिताको समापन सत्रमा जिल्ला न्यायधिश जयानन्द पनेरु र प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी बिशिष्ट अतिथी रहेका थिए । 

प्रतियोगिताका विजेताहरुलाई अध्यक्ष, प्रमुख अतिथी र बिशिष्ट अतिथीले पुस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update