बैतडी –बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा आज बुढी पोल्ने पर्व धुमधामसंग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बुढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ ।
भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझ पोल्ने चलन रही आएको स्थानीय संस्कृतिका जानकार आर्चाय घनश्याम लेखकले बताए । द्वापर युगमा भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि सोही दिनको सम्झनामा बुढी पोल्ने गरिएको उनले बताए ।
द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्णले दुध चुसी मारेको विजयोत्सवका रुपमा बुढी पोल्ने पर्व मनाइने गरेको लेखकले बताए ।
सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको बुढीलाई आज साँझपख पोल्ने र सोही ठाउँमा काक्रा खाँदै लुतो फाल्ने प्रचलन समेत रही आएको छ । ओल्के संक्रान्तिका दिन गोठालाहरुले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन् । भाद्र संक्रान्तिका गाडिएको बुढीलाई आज पोलेमा सुख शान्ति प्राप्त हुने विश्वास रही आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताए । बुढी जलाउँदा बनेको खरानीको तिलक बनाएर गाईलाई लगाउने चलन समेत रही आएको छ ।
ओल्के संक्रान्तिका दिन गाडिएको बुढीलाइ आज असोज संक्रान्तिका साँझ प्रत्येक घर घरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ । पुतनाको स्वरुपमा तयार गरी सिंगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभरी घाममा सुकाइ साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ । साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले ‘थुई बुढी थुई’ भन्ने गर्छन् ।
यस पर्वमा रातभरी देउडा खेल्ने चलन पनि रहेको छ । तर पछिल्लो समयमा यस्ता चलनहरु लोप हुँदै गएका छन् । बुढी पोल्ने पर्व पहिलाको जस्तो मनाउन छोडिएको स्थानीयहरुले बताएका छन् । सामूहिक रुपमा मनाउने यस्ता पर्वहरु लोप हुँदै गएका बताइएको छ ।