Sagun Khabar
छात्राहरु बेहोस हुने क्रम बढ्दै, बैतडीका विद्यालयहरुमा पठनपाठन प्रभावित 

बैतडी –पछिल्लो समयमा बैतडीका विभिन्न विद्यालयहरुमा छात्राहरु बेहोस हुने समस्या बढ्दै गएको छ । जिल्लाको विभिन्न स्थानमा रहेका विद्यालयहरुमा छात्राहरु बेहोस हुने समस्या आएपछि पठनपाठन प्रभावित बन्न थालेको हो । 

जिल्लाको मेलौली नगरपालिकास्थित मणिलेक मावि काँडामा अध्ययनरत छात्राहरु विद्यालयमै बेहोस हुन थालेपछि पठनपाठन प्रभावित भएको विद्यालयका प्रधानाध्यापक देवदत्त कलौनीले बताए । छात्राहरुमामात्रै नभएर पछिल्लो समयमा छात्रहरुमा समेत यो समस्या देखिन थालेको छ । 

Atrya hospital

विद्यालय आइसकेपछि छात्राहरू रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखिएको मणिलेक माविका शिक्षक अर्जुन कुँवरले बताए । विगत लामो समयदेखि विद्यालयमा यो समस्या देखा परेको र बीचमा ठीक हुने र फेरि बल्झिने गरेको उनले बताए । कक्षा ५ देखि १० कक्षामुनिका छात्रामा यो लक्षण बढी देखिने गरेको शिक्षक कुँवरले बताए । 

विद्यार्थीमा दैनिक बेहोस हुने समस्याले पठनपाठन प्रभावित हुने गरेको शिक्षक कुँवरको भनाइ छ । बिहान विद्यालयमा आउनेबित्तिकै छात्राहरुमा बढीजसो समस्या देखिने गरेको बताइएको छ ।  

यस्तै सुर्नया ६ स्थित शंकर संस्कृत माविका छात्राहरुमा पनि पछिल्लो समयमा बेहोस समस्या देखिन थालेको छ । कक्षा ५ देखि १० सम्मका छात्राहरुमा रुने, कराउने, काँप्ने र बेहोस हुने समस्या देखा पर्न थालेको विद्यालयले जनाएको छ । छात्राहरुमा गएको असारदेखि यो समस्या देखिएको विद्यालयका शिक्षक परमानन्द अवस्थीले बताए । पहिलाको तुलनामा आजभोलि केही कम भएको उनले बताए । 

छात्राहरूमा देखिएको यो समस्या मास हिस्टेरिया रहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने ‘सामूहिक रुपमा एकै प्रकारको यस्तो समस्या देखिनु मासहिस्टेरिया हो । यस्तो बेला मनोपरामर्शलाई जोड दिनुपर्दछ ।’

बेलाबेलामा जिल्लाका विभिन्न स्थानमा विद्यालयमा छात्राहरु बेहोस हुने समस्या आउने गरेको बताउँदै स्वास्थ्य प्रमुख भट्टले विद्यालयहरुमा मानसिक स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १३:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update