
बैतडी- बैतडीकी भागरथीको ७० हजार बोकेको झोला महाकाली नदीमा खसेको छ । दशरथचन्द नगरपालिका २ देहिमाडौं रजुन्डाकी भागरथी बोहराले बोकेको झोला गाडीबाट ओर्लिने क्रममा सडक किनारबाट बिहीवार महाकालीमा खसेको हो ।
किनमेलका लागि बिहीबार झुलाघाट बजार जाने क्रममा उनले बोकेको झोला मौराभीरबाट महाकालीमा खसेको बताइएको छ ।केही दिन अघि मात्रै भारतमा रहेका श्रीमानले पठाएका रुपैँया लगेर बोहरा बिहीबार किराना पसलको सामान किन्न झुलाघाट गएकी थिइन् ।
गाउँमा किराना पसल सञ्चालन गरेर गुजारा गर्दै गएकी भागरथीले पैसाको झोला महाकालीमा खसेपछि आँसु खसाल्दै रित्तो हात घर फर्किनु परेको बताइन् । गाडीबाट ओर्लिने क्रममा साँघुरो सडक किनारबाट भागरथीको झोला भीरबाट महाकालीमा खसेको सशस्त्र प्रहरी बल नेपालको झुलाघाट सीमा पोष्टका इन्चार्ज राजेन्द्रनाथ योगीले जानकारी दिए ।
सशस्त्र प्रहरी बलको उद्धार टोलीले महाकाली नदी किनारसम्म खोज गरे पनि झोला नभेटिएको बताइएको छ । झोलामा नगदसहित बिक्रीका लागि हरियो काँक्रासमेत रहेका थिए।