Sagun Khabar
बैतडीमा पनि मनाइयो संविधान दिवस

बैतडी- बैतडीमा पनि बिभिन्न कार्यक्रम गरि संविधान दिवस मनाइएको छ । आज शनिबार जिल्ला समन्वय समिति, दशरथचन्द नगरपालिका र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनमा प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा संविधान दिवस तथा राष्ट्रिय दिवस, विविध कार्यक्रमहरूको आयोजना गरी मनाइएको हो ।

जिल्ला स्थीत सबै तहका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकायका कर्मचारीहरु, दशरथचन्द माध्यमिक विद्यालय र वीरेन्द्र माध्यमिक विद्यालयका शिक्षक, शिक्षिका तथा विद्यार्थीहरू लगायत नागरिक समाजको गरिमामय उपस्थितिमा जिल्ला सदरमुकाममा भव्यताका साथ विविध कार्यक्रमहरूको आयोजना गरी दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कार्यक्रममा स्थानीय छलिया बाजागाजाका साथ गोठलापानी बजारबाट प्रारम्भ भएको प्रभातफेरीमा सहभागीहरूले संविधान दिवससँग सम्बन्धित चेतनामूलक तथा सन्देशमूलक नारा अङ्कित प्लेकार्डहरू प्रदर्शन गर्दै गढी बजारसम्म परिक्रमा गरेका थिए । 

प्रमुख जिल्ला अधिकारी मीना अर्यालले गढीस्थित अमर सहिद दशरथचन्दको सालिकमा माल्यार्पण गरी सहिदहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेकी थिइन । साथै, सालिक स्थलमा आयोजित सभामा आमन्त्रित विशिष्ट व्यक्तित्वहरूले संविधानको मर्म, नेपालको संवैधानिक विकासक्रम र यसको प्रभावकारी कार्यान्वयनबारे आ–आफ्नो भनाइ राखेका थिए । 

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १५:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update