Sagun Khabar
हराउँदै गौराको मौलिकता 

बैतडी –अहिले सुदूरपश्चिमका विभिन्न जिल्लामा गौराको रौनक छाएको छ । भदौ ४ गतेदेखि गौरा मनाइरहेका ठाउँमा अहिले पनि गौराको रौनक जारी रहेको छ । सुदूरपश्चिमको मौलिक पर्वको रुपमा रहेको गौराको मौलिकता भने पछिल्लो समयमा हराउँदै गएको छ । गौरा उपासनाको निश्चित विधि र पद्दति भएपनि पछिल्लो समयमा देखासिकी मात्रै भइरहेकोमा संस्कृतिका जानकारहरुले चिन्ता व्यक्त गरेका छन् । 

गौरा भनेको देउडा मात्रै बुझ्ने गरिएकाले यसको मौलिक पहिचान हराउँदै गएको स्थानीय संस्कृतिका जानकार आचार्य घनश्याम लेखकले जानकारी दिए । गौराको परम्परा र महिमाका बारेमा समेत आफूखुसी व्याख्या गर्न थालिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाइने भएपनि अहिले तिथीमा समेत तलमाथि गर्न थालिएकाले यसको सांस्कृतिक र मौलिक पक्ष लोप हुने चिन्ता रहेको उनले बताए । 

Atrya hospital

गौरा भन्ने बित्तिकै महिलाहरुले ब्रत बसेर गौरी महेश्वरको पूजाआजाका साथ दुबधागो धारण गर्ने परम्परासंग सम्बन्धित रहेको आचार्य लेखकले बताए । गौरा एकादशीको ब्रत उपासना गरी जनैपूर्णिमापछि मात्रै दुबधागो धारण गर्ने परम्परा रहेको उनले बताए । उनले भने ‘गौराको आफ्नो छुट्टै मौलिक परम्परा छ । बिरुडाले गौरादेवी पूजाआजा गर्ने, ब्रतालु महिलाहरुले दुबधागो धारणा गर्ने, सगुन फाग गाएर गौरा महेश्वरको पूजाआजा गर्ने काम गौरामा हुनुपर्दछ । तर आजभोली यी सबै कुराहरु हराउँदै गएका छन् ।’

पछिल्लो समयमा गौराको नाममा रमाइलो मात्रै गर्ने, देउडा खेल्ने चलन हाबी हुँदै गएको स्थानीय जयराज भट्टले बताए । गौराको समयमा गाइने विभिन्न किसिमका ठाडो खेल, ढुस्को, धमारी र चैतहरु लोप हुँदै गएका उनले बताए । युवा पुस्तामा ऐतिहासिक खेलहरुका बारेमा चासो नहुँदा समस्या हुँदै गएको उनले बताए । 

गौरालाई देउडा खेल्ने पर्वको रुपमा मात्रै लिन थालिएकाले यसको मौलिक परम्परा हराउँदै गएको संस्कृतिका जानकार शिवराज भट्टले बताए । गौराको परम्परा र मौलिकता जोगाउनेतर्फ कसैको ध्यान जान नसकेको उनले बताए । उनले भने ‘गौराको बिशिष्ट परम्परा बिर्सिदै गएका छौं । यो बेला गाइने फाग, ठाडो खेल, चैत, धमारी हराउँदै गएका छन् ।’

गौरा र देउडा नितान्त फरक विधा भएपनि यसलाई एकै जस्तो मान्ने गर्दा गौराको परम्परा र मौलिकता हराउँदै गएको ज्योतिष गणेशदत्त अवस्थीले बताए । देउडा गौरामा गाइने एक विधा हो तर देउडा गौरा होइन भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए । उनले भने ‘गौराको समयमा विभिन्न देवीदेवता, राजारजौटाका इतिहास भएका खेलहरु खेल्न चलन छ । तर यस्ता खेलहरु पछिल्लो समयमा लोप हुँदै गएका छन् ।’

नयाँ पुस्ताले गौराको मौलिकता र परम्परा नबुझ्दा यसको मौलिकता दिनानुदिन हराउँदै गएको छ । पहिला पहिला गौरा शुरु हुनुभन्दा एक महिना अघिदेखि रातिको समयमा देवीदेवताका गाथामा आधारित खेलहरु हुने गरेका थिए । पछिल्लो समयमा ती सबै खेलहरु लोप हुँदै गएका स्थानीय देवराज भट्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update