Sagun Khabar
बाँदरले मकैबाली सखाप पारेपछि बैतडीका किसान हैरान 

बैतडी –बाँदरले मकैबाली सखाप पारेपछि बैतडीका विभिन्न ठाउँमा किसानहरु हैरान भएका छन् । पाक्नै लागेको मकैबाली बाँदरले नोक्सान गरेको दशरथचन्द नगरपालिका १ लुइटाका उमेश बडूले बताए । 

जिल्लाको दशरथचन्द नगरपालिकाका सबैजसो वडामा बाँदर आतंक रहेको छ । पछिल्लो समयमा वडा नं १ को क्षेत्रमा समेत बाँदरले बालीनालीमा नोक्सानी पुर्याएको स्थानीय अम्बादत्त बडूले बताए । उनले भने ‘अन्य बर्ष यति नोक्सान गरेको थिएन् । यो बर्ष बारीको मकै पूरै सखाप पारेको छ । पहरा दिँदा समेत मकै जोगाउन सकिएको छैन् ।’

Atrya hospital

बाँदरले बारीमा लगाएको सबै मकैबाली खाएर सखाप पारेको दशरथचन्द नगरपालिका १ का बीरबहादुर टेरले बताए । बाँदरबाट बालीनाली जोगाउन मुस्किल भएको उनले बताए । उनले भने ‘बाँदरले बालीनाली सखाप गरेको छ । बारीको तरकारी, मकै केही बाँकी राखेको छैन् ।’

दशरथचन्द नगरपालिका वडा नं १ को लुइटा, सोल्तडी, गोबर्या इजर लगायतका ठाउँमा मकैबाली सखाप पारेको स्थानीय उमेश बडूले बताए । दिनमा बाँदर र रातिमा जंगली बँदेलले मकैबाली सखाप पारेको उनको भनाइ रहेको छ । 

बाँदरकै कारण दशरथचन्द नगरपालिका ८ का अधिकांश स्थानीयहरुले खेत बाँझै राखेका छन् । बारीमा लगाएको अन्नबाली बाँदरले सखाप पार्ने भएपछि खेत बाँझै रहेका स्थानीय सुमित्रा चन्दले बताइन् । 

केही ठाउँमा लगाएको मकैबाली समेत जोगाउन मुस्किल भएको चन्दले बताइन् । पछिल्लो समयमा बाँदरले मानिसमाथि आक्रमण गर्न थालेपछि झन् समस्या भएको उनले बताइन् । 

बाँदर नियन्त्रणका लागि कुनै प्रयास नहुँदा बालीनाली जोगाउन मुस्किल भएको किसानहरुको भनाइ छ । जंगली जनावरबाट मकैबाली जोगाउन नसक्दा बर्षेनी उत्पादन घट्दै गएको छ । 

बैतडीमा १४ हजार ५ सय हेक्टर जमीनमा मकैखेती गरिँदै आएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update