Sagun Khabar
बैतडीका धेरै जसो ठाउँमा भदौ ७ गते गौरा मनाइदै

बैतडी- बैतडीका अधिकाँश ठाउँमा भदौ ७ गते गौरा पर्व मनाइदै  छ । जिल्लाको  बढी  जसो  ठाउँहरुमा भदौ ७ गते गौरा मनाइन लागिएको  हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते गौराको तिथी तय गरेकोले सोहि तिथिमा गौरा मनाइन लागिएको ज्योतिष लबदेब भट्टले बताए ।

डिलाशैनी  गाउँपालिका, सुर्नया गाउँपालिका, दशरथचन्द नगरपालिका , पुर्चौडी  नगरपालिकका धेरै जसो  ठाउँमा भदौ ७ गते  गौरा पर्व मनाइदै  छ । पाटन नगपालिकामा पनि ७ र  २१ गते  गौरा मनाइदै  छ ।  बढी जसो ठाउँमा ७ गते  हुने  देखिएको  छ ।

 यो बर्ष अगस्ती उदयको दोष भएकाले भदौ ७ गते नै गौरा पर्व मनाइन लागिएको  ज्योतिष खेमराज भट्टले  बताए । अगस्ती उदयपछि गौरा पूजन गर्न नहुने शास्त्रीय मान्यता रहेकोले  ७ गते उपयुक्त तिथि रहेको  उनले बताए ।  तर भदौ ७ को तिथीमा कतिपय ज्योतिषहरुले भने असन्तुष्टी जनाएका छन् । गौरा पर्व भदौ शुक्ल वा कृष्ण पक्षमा मात्रै मनाइने भएकाले यो बर्षको गौराको उपयुक्त तिथी भदौ २१ नै रहेको ज्योतिष लक्ष्मीदत्त अवस्थीले बताए ।

गौरा एकादशी तथा जनैपूर्णिमा अघि दुबधागो धारण गर्ने परम्परा नरहेकाले भदौ २१ गते गौराष्टमी भएको उनले बताए ।ज्योतिषहरुबीच गौराको तिथीका बिषयमा मतभेद भएपछि यो बर्ष दुई दिन गौरा हुँदै  छ । संघ  र प्रदेश सरकारले  पनि  भदौ ७ र ८ गते गौरा पर्वको बिदा दिएकाले  धेरै  जसो  ठाउँमा ७ गते  मनाइदै  छ ।  पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ गते नै गौरा तिथी तोके पछि  सरकारी बिदा दिइएको हो ।

 भदौ ७ गतेको गौराका लागि भदौ ४ गते भोलि बिरुडापञ्चमी, भदौ ५ गते नानी गौरा, भदौ ६ गते अमुक्ताभरण सप्तमी र भदौ ७ गते गौराष्टमी राखिएको छ । भदौ २१ गते गौरा मनाइने स्थानमा भदौ १८ गते बिरुडापञ्चमी, भदौ १९ गते नानी गौरा, भदौ २० गते अमुक्ताभरण सप्तमी र भदौ २१ गते गौराष्टमी राखिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  १८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update