Sagun Khabar
गौराका लागि घर फर्कदै परदेशी 

बैतडी – सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि गाउँघरमा चहलपहल बढेको छ । गौराका लागि घर बाहिर रहेकाहरु पनि घर फर्कन थालेका स्थानीयहरुले बताएका छन् । खास गरेर रोजगारीका लागि भारत पसेकाहरु पनि गौराका लागि घर फर्कन थालेको दशरथचन्द नगरपालिका वडा नं २ का स्थानीय गगनसिंह भण्डारीले बताए । 
रोजगारीको सिलसिलामा भारतका विभिन्न स्थानमा काम गरिरहेकाहरु स्वदेश फर्कने क्रम बढेको छ । 

यो बर्ष कुनै ठाउँमा भदौ ७ गते र कुनै ठाउँमा भदौ २१ गते गौरा मनाउने तयारी भइरहेको छ । परदेशमा रहेकाहरु गौराका लागि घर फर्कन थालेका भण्डारीले बताए । उनले भने ‘अहिले गौराका लागि घर आउने मानिसको संख्या दिनदिनै बढीरहेको छ । गौराको समयमा परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रही आएको छ ।’

Atrya hospital

भारतसंग सीमा जोडिएका नाकाहरुबाट घर फर्कनेको संख्या पहिलाको तुलनामा बढेको छ । बैतडीको सीमा नाका झुलाघाटबाट स्वदेश भित्रिनेको संख्या हिजोआज निकै बढेको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ । दैनिक डेढसय बढी नागरिक झुलाघाट नाकाबाट स्वदेश फर्किरहेका झुलाघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले बताए । उनले भने ‘अहिले गौराका लागि नाकाबाट घर फर्कनेको संख्या बढेको छ । भारतका विभिन्न शहरमा रहेका नेपालीहरु स्वदेश फर्किरहेका छन् ।’ 

गौराका लागि परिवारका सबै सदस्य एकैठाउँमा बसेर मनाउने चलन रहेकाले आफू भारतबाट घर फर्केको पुर्चौंडीका स्थानीय रणबहादुर बोहराले बताए । उनले भने ‘हाम्रो ठाउँमा दशैंभन्दा पनि गौरालाई बढी महत्वका साथ मनाइने गरिन्छ । त्यसैले गौरा मनाउनका लागि घर आएका हौं ।’

गौरा नजिकिएसंगै गाउँघरमा चहलपहल बढेको छ । परदेश रहेकाहरु पनि गाउँमा फर्केपछि अहिले रमाइलो वातावरण भएको सुर्नया ४ का भानबहादुर चन्दले बताए । उनले भने ‘अहिले गाउँमा गौराको रौनक बढेको छ । घर फर्कने मान्छेहरु दिनानुदिन आइरहेका छन् ।’

गौरा पर्वलाई यो क्षेत्रको मुख्य पर्वका रुपमा मनाइन्छ । भाद्र शुक्ल वा कृष्ण पक्षमा मनाइने यो पर्वका लागि बसाँईसराइ गरेर गएकाहरु पनि थातथलोमा फर्कने गरेका छन् । पहाडी समुदायमा गौराको समयमा देवीदेवताका मन्दिर तथा गौराखलाहरुमा खेल हुने भएकाले पनि बसाँईसराइ गरेकाहरु पुख्र्यौली थलोमा फर्कने गरेका हुन् । 

गौरालाई सामाजिक सद्भावको पर्वका रुपमा समेत लिन सकिने जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘गौराको समयमा गाउँका सबै मानिस एक ठाउँमा जमा भएर सुखदुख साटासाट गर्न पाउँछन् । यसले गर्दा सामाजिक सद्भावमा पनि वृद्धि गरेको छ ।’

रोजगारीका लागि भारत गएकाहरु पनि गौराको समयमा घर फर्कने गरेका अवस्थीले बताए । 
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update