Sagun Khabar
प्रदेश गौरवको योजना सतबाँझ–श्रीभावर सडक : यो बर्ष १८ करोड बजेट विनियोजन 

बैतडी–बैतडीको एकमात्रै प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडकमा यो बर्ष १८ करोड बजेट विनियोजन भएको छ । चालु आर्थिक बर्षमा प्रदेश सरकारले सो योजनाका लागि १८ करोड बजेट विनियोजन गरेको पूर्वाधार विकास कार्यालय बैतडीका सूचना अधिकारी हर्कराज जोशीले बताए । 

सो योजना अन्तर्गत सडक विस्तार र कालोपत्रेका लागि बहुबर्षीय ठेक्काहरु सञ्चालनमा रहेका र सो बजेट ती ठेक्काहरुमै खर्च हुने जोशीले बताए । सतबाँझ–श्रीभावर सडकखण्ड अन्तगर्त सतबाँझदेखि ६ किलोमिटर अगाडि कालोपत्रेको काम गत विगतदेखि नै जारी रहेको छ । उक्त काम यो बर्ष सकिने सूचना अधिकारी जोशीले बताए । 
यस्तै तडीगाउँदेखि कठ्यागौंडा सम्मको १४ किलोमिटर कालोपत्रेका लागि ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको बताइएको छ । कठ्यागौंडादेखि श्रीभावर सम्म २० किलोमिटर डबल कटिङ, नयाँ ट्रयाक ओपन र वालका लागि १२ करोडको ठेक्का भइसकेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २० किलोमिटरमा गायत्री निर्माण सेवाले काम गर्ने बताइएको छ । 

Atrya hospital

यस्तै ढोल्यामोडदेखि ८ किलोमिटर अगाडि सम्म कालोपत्रे गर्नका लागि चन्द्रा एण्ड वसन्ता ग्वाल्लेक जेभीले काम गरिरहेको छ । उक्त काम यो बर्ष सकिने सूचना अधिकारी जोशीले बताए । 

८ किलोमिटर कालोपत्रे बाहेक त्यो भन्दा अगाडि हाटतर्फ ५ किलोमिटर कालोपत्रेका लागि काम भइरहेको छ । सतबाँझ –श्रीभावर सडकलाई सकेसम्म छिटो कालोपत्रे गर्ने हिसाबले काम भइरहेको पूर्वाधार विकास कार्यालयको दाबी छ । प्रदेश गौरवको योजना भएकोले यो सडक प्राथमिकतामा रहेको बताइएको छ । 

बैतडीको पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकाका लागि सदरमुकाम जोड्ने छोटो सडकको रुपमा रहेको यो सडक झुलाघाट नाका पुग्ने बझाङ जिल्लाका नागरिकका लागि समेत छोटो बाटो हुने स्थानीय रामबहादुर महराले बताए । उनले भने ‘यो सडक पूर्ण रुपमा सुचारु भएमा यो क्षेत्रका नागरिकलाई धेरै फाइदा हुनेछ । जिल्लाको सुर्नया गाउँपालिका, पुर्चौंडी नगरपालिका र सिगास गाउँपालिकालाई सदरमुकामसंग जोड्ने सडकको रुपमा यसलाई लिइन्छ ।’

सतबाँझदेखि श्रीभावर सम्म यो सडक पूर्ण रुपमा सञ्चालनमा आएमा सुर्नया गाउँपालिका वडा नं ७ र ८ का नागरिकलाई पनि पालिका पुग्न सहज हुने सुर्नया गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष भक्तबहादुर कुँवरले बताए । बैंकको काम लगायत अन्य कामका लागि अहिले ७ र ८ नम्बर वडाका नागरिकले खोड्पे भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ । उनले भने ‘यो सडक पूर्ण रुपमा सुचारु भएमा यो क्षेत्रका नागरिकको जीवनशैलीमा परिवर्तन आउनेछ ।’
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update