Sagun Khabar
बैतडीमा अन्तर्राष्ट्रिय युवा दिवस : तीनजना युवा सम्मानित,पाटनमा वक्तृत्वकला सम्पन्न 

बैतडी –अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बैतडीमा युवा अधिकारको क्षेत्रमा काम गर्दै आएका तीन जनालाई सम्मानित गरिएको छ । दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिका १ की निर्मला टेर, दशरथचन्द नगरपालिका २ की रेजिना टेलर र दशरथचन्द नगरपालिका ४ की निशा भट्टलाई प्रशांसा पत्र सहित सम्मानित गरिएको हो । 

बालअधिकारका क्षेत्रमा काम गर्दै युवाहरुको अधिकार स्थापित गर्न र युवा सवालमा पैरवी गरेकाले तिनै जनालाई सम्मान गरिएको दशरथचन्द नगरपालिकास्तरीय युवा सञ्जालका अध्यक्ष उमेश बडूले बताए । 

दिवसको अवसरमा गोठलापानीदेखि गढी सम्म प्रभातफेरीको आयोजना गरिएको थियो भने जनप्रतिनिधिसहितको सहभागितामा युवाहरुका सवाल बिषयक अन्तरक्रिया सम्पन्न गरिएको थियो । 

सञ्जालका अध्यक्ष उमेश बडूको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दमन कुँवर प्रमुख अतिथी रहेका थिए । यस्तै दशरथचन्द नगरपालिकाका कार्यबाहक प्रमुख सूर्यबहादुर बोहरा बिशिष्ट अतिथी रहेका थिए । 

युवा सञ्जालको आयोजनामा भएको कार्यक्रममा दशरथचन्द नगरपालिका, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए), भिएसओ, पिसवीन, परिवार नियोजन संघ, युवालय लगायतका संस्थाहरुको सहयोग रहेको थियो । 

Samman 21691837601.jpg

यस्तै दिवसको अवसरमा पाटनमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । पाटन नगरस्तरीय युवा सञ्जालको आयोजना तथा पाटन नगरपालिका र युवालयको सहयोगमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा पाटन नगरपालिका–५ का दिलेन्द्रसिंह ठगुन्ना प्रथम भएका छन् । प्रतियोगितामा पाटन नगरपालिका ३ की जयन्ती अवस्थी द्वितीय र पशुपति पाण्डेय तृतीय भएकी छन् । प्रतियोगितामा प्रथम हुनेले दुई हजार, दोश्रो हुनेले एक हजार पाँच सय र तेश्रो हुनेले एक हजार नगदसहित प्रमाण पत्र प्राप्त गरेको नगरस्तरीय  युवा सञ्जालका सचिव निराजन पन्तले बताए ।

Patan1691837618.jpg

प्रतियोगितामा १६ जना युवाले भाग लिएका थिए । नगरयुवा सञ्जालका अध्यक्ष सञ्जय भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा पाटन नगरपालिकाका नगरप्रमुख गौरीसिंह रावल प्रमुख अतिथी रहेका थिए । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरुको सक्रिय सहभागिता हुन पर्नेमा नगर प्रमुख रावलले जोड दिए । 

नगरपालिकाका तर्फबाट आगामी दिनमा युवा लक्षित कार्यक्रम सञ्चालनका लागि बजेट व्यवस्थापन गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे । 
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १६:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update