बैतडी –बैतडी धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको जिल्ला हो । यहाँका हरेक गाउँमा मन्दिर तथा शक्तिपीठहरु रहेका छन् । यी मन्दिर शक्तिपीठमा बैतडीका मात्रै नभएर अन्यत्रका दर्शनार्थी समेत आउने गरेका छन् ।
बैतडीका मुख्य धामहरुमध्ये केदारका धामहरु रहेका छन् । प्रसिद्ध केदारका धामहरुको दर्शनका लागि नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् । जिल्लामा रौलाकेदार, ग्वाल्लेक केदार, शिखर केदार, गोफा केदार,ध्वज केदार लगायतका प्रसिद्ध केदारका मन्दिरहरु रहेका छन् ।
रौलाकेदार धामलाई केदारनाथ ज्योतिर्लिङ्गको रुपमा समेत मान्ने गरिएको छ । ऐतिहासिक रावलाद्री पर्वतमा अवस्थित रौलाकेदार नै केदारनाथ ज्योतिर्लिङ्ग भएको जगदगुरु बालसन्त मोहनशरण देवाचार्यको दाबी छ । रौलाकेदारको दर्शन गरेमा बद्री केदार जत्तिकै फल प्राप्ति हुने जनविश्वास रही आएको सो मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । उनले भने ‘रौलाकेदारको दर्शन गरेमा बद्री केदार दर्शन गरे जत्तिकै फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । रौलाकेदारको दर्शनका लागि नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत पुग्ने गरेका छन् ।’
रौलाकेदार मन्दिरमा हरेक श्रावण महिनामा दर्शनार्थीहरु दर्शनका लागि पुग्ने गरेका छन् भने कार्तिक शुक्ल अष्टमीका दिन जात्रा हुने गरेको पूजारी भट्टले बताए । रौलाकेदार धाम पुग्ने बाटो भने असहज रहेको छ । रौलाकेदार धामसम्म पदमार्ग निर्माण गर्न सके आन्तरिक तथा बाह्य धार्मिक पर्यटकहरुलाई भित्र्याउन सकिने स्थानीय रामबहादुर महराले बताए ।
जिल्लाको ग्वाल्लेक केदार पनि अगाध श्रद्धास्थलको रुपमा रही आएको स्थानीयहरुले बताएका छन् । ग्वाल्लेक केदारको दर्शनका लागि टाढाका भक्तजनहरु समेत पुग्ने गरेका ग्वाल्लेकका स्थानीयहरुले बताएका छन् ।
जिल्लाको सुर्नया गाउँपालिका र पुर्चौंडी नगरपालिकाको सिमानामा रहेको शिखर केदार र गोफा केदारमा पनि श्रावणको महिना भक्तजनहरु पुग्ने गरेका पूजारी विनोदप्रसाद अवस्थीले बताए ।
पौराणिक र ऐतिहासिक महत्व बोकेका केदारका मन्दिरहरुमा दर्शनका लागि बसाँइसराई गरेर गएकाहरु पनि पुग्ने गरेका छन् । यस्ता धार्मिक स्थलहरुले पारिवारिक र सामाजिक सम्बन्धलाई बलियो बनाउन पहल गरेको पूजारी अवस्थीले बताए ।
बैतडीमा सातभाई केदारका मन्दिर रहेका बताइन्छ । सात बैनी भगवती र सातभाई केदारका मन्दिर भएकै कारण यो जिल्ला धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको शिक्षक अर्जुन कुँवरले बताए । उनले भने‘यी धार्मिक क्षेत्रहरुको बारेमा स्थानीय पाठ्यक्रममा चर्चा हुनुपर्छ । जसले गर्दा स्थानीय नागरिकलाई यी धार्मिक स्थलहरुको बारेमा जानकारी प्राप्त हुन्छ ।’
स्थानीय सरकारको ध्यान जानुपर्नेमा जोड
जिल्लाका मुख्य धार्मिक स्थलका रुपमा रहेका केदारका मन्दिरहरुको प्रचारप्रसारका लागि स्थानीय सरकारहरुले ध्यान दिनुपर्ने नागरिकको भनाइ छ । स्थानीय सरकारले प्रसिद्ध धामहरुमा पुग्ने बाटो सहजताका लागि ध्यान दिनुपर्ने सुर्नयाका स्थानीय धिरेन्द्र मडैले बताए । आफ्नो क्षेत्रभित्र रहेका धार्मिक स्थलहरुको प्रचारप्रसारमा स्थानीय सरकारको ध्यान जानुपर्नेमा उनले जोड दिए ।
धार्मिक पर्यटनलाई अर्थतन्त्रसंग जोडेर केही कार्यक्रम ल्याउन सके यसले ग्रामीण अर्थतन्त्रमा समेत टेवा पुग्ने दशरथचन्द नगरपालिका १ का स्थानीय पुष्करराज भट्टले बताए । उनले भने ‘हाम्रो क्षेत्रमा रहेका प्रसिद्ध केदारका मन्दिरहरुको बारेमा स्थानीय सरकारहरुले प्रचारप्रसारमा जोड दिनुपर्छ । धार्मिक पर्यटनको सम्भावनाका बिषयमा स्थानीय सरकारहरुले अध्ययन गर्नुपर्दछ ।’