Sagun Khabar
बैतडीका ग्रामीण कच्ची सडक ‘काल’ बन्दै 

बैतडी –बैतडीका ग्रामीण कच्ची सडकहरु काल बन्दै गएका छन् । जिल्लामा पछिल्लो समयमा सवारी दुर्घटना बढ्दै गएका र त्यस्ता दुर्घटना कच्ची सडकमा बढी हुने गरेका प्रहरीको तथ्यांकले देखाएको छ । 

ग्रामीण कच्ची सडकहरु समयमै स्तरोन्नती नहुँदा सवारी दुर्घटना हुने गरेका छन् । सवारी दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने स्थिती रहेको स्थानीय महेशदत्त भट्टले बताए । ग्रामीण कच्ची सडक सुधारमा स्थानीय सरकारहरुले ध्यान नदिँदा यस्ता खालका दुर्घटना बढ्दै गएका उनको भनाइ छ । उनले भने ‘ग्रामीण कच्ची सडक सुधार नहुँदा सवारी दुर्घटना बढ्दै गएका छन् । ट्राफिक नियमको पालना नहुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु लगायतका कारणले पनि सवारी दुर्घटना बढ्दै गएका छन् ।’

कच्ची सडकमा पुराना थोत्रा सवारी साधन सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढ्दै गएको भट्टले बताए । 

Atrya hospital

सोमबारमात्रै मेलौलीमा भएको बस दुर्घटनामा एकजनाको मृत्यु भयो भने ४५ जना घाइते भए । सडकबाट खसेको बस रुखमा अड्किँदा ठूलो मानवीय क्षति हुनबाट रोकिएको थियो । बर्षातको समयमा कच्ची सडक चिप्लो हुँदा यस्ता खालका दुर्घटना हुने गरेका छन् । 

जिल्लाको तल्लोसोराड क्षेत्रको लाइफलाइनको रुपमा रहेको पाटन–पञ्चेश्वर सडक समयमा स्तरोन्नती नहुँदा बढी दुर्घटना हुने गरेको स्थानीय केशवसिंह भाटले जानकारी दिए । पाटन–पञ्चेश्वर सडक समयमै स्तरोन्नती भएमा यस्ता खालका दुर्घटना कम हुने उनको दाबी छ । ग्रामीण कच्ची सडकमात्रै नभएर मुख्य राजमार्गहरु समेत ज्यानामार बनेका उनले बताए । उनले भने ‘समयमै पाटन–पञ्चेश्वर सडक स्तरोन्नती भएको भए यस्ता खालका दुर्घटनाहरु दोहरिने थिएनन् । तर समयमा काम सम्पन्न गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन् ।’

जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक बर्षको अहिले सम्म ६ ओटा जिप र बस दुर्घटनामा परी १५ जनाको मृत्यु भइसकेको छ । ७० जना घाइते भएका छन् । अधिकांश दुर्घटनाहरु ग्रामीण सडकमा भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । 

चालु आर्थिक बर्षमा ५ ओटा जिप दुर्घटना र एक बस दुर्घटना भएको खत्रीले बताए । सवारी दुर्घटनाको एकै कारण नभएपनि धेरैजसो कच्ची सडकमा दुर्घटना भएका उनले बताए । यसका साथै सवारी साधनको अवस्था, सडकको अवस्था, चालकको लापरवाही लगायतले दुर्घटना हुने गरेका खत्रीले बताए । उनले भने ‘सवारी दुर्घटनाको एउटै कारण मात्रै हुँदैन् । विभिन्न कारणले सवारी दुर्घटना हुने गरेका छन् ।’

पहाडी क्षेत्रमा पुरानो थोत्रा गाडी चलाउँदा दुर्घटना बढ्दै गएका स्थानीय महेशदत्त भट्टले बताए । स्थानीय सरकारहरुले समेत ग्रामीण सडक स्तरोन्नतीमा ध्यान नदिँदा सडक दुर्घटना बढ्दै गएका उनको भनाइ छ । उनले भने ‘सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकारहरुले सडक स्तरोन्नतीमा ध्यान दिनुपर्दछ । ग्रामीण सडक सुधार गर्न सके सवारी दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।’

सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गर्ने तर्फ सबैको ध्यान जानुपर्ने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘सवारी दुर्घटना न्यूनीकरणका लागि सडकको स्तर सुधार गर्नेतर्फ तिनै तहका सरकारको ध्यान जानुपर्छ । सवारी साधनको अवस्था एकीन गरेर मात्रै सञ्चालन गर्नुपर्ने हुन्छ ।’

बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका भएपनि दुर्घटना भने रोकिएका छैनन् । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियम पालना गराउनेदेखि सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्ष खत्रीले बताए । उनले भने ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि पहल गरिरहेका छौं । तर दुर्घटना भनेको कल्पना नगरेको अवस्था हो । सकेसम्म सवारी दुर्घटना न्यूनीकरणमा प्रहरीले प्रयास गरिरहेको छ ।’
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  ०८:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update