Sagun Khabar
झुलाघाटमा पक्की पुलको आसा, अब पूरा होला त ?

 बैतडी –बैतडीको भारतसंग सीमा जोडिएको झुलाघाटमा महाकाली नदीमाथि पक्की पूल बन्ने आशा अझै पूरा हुन सकेको छैन । बेला–बेलामा सरकारका मन्त्री र उच्च पदस्थ अधिकारीहरुले झुलाघाटमा पुल निर्माण गर्ने आश्वासन दिए पनि अहिले सम्म पुल निर्माण हुन सकेको छैन् । 

करीब दुईसय वर्ष अघि ईष्ट ईण्डिया कम्पनीले नेपाल –भारत सीमा नाका झुलाघाटस्थित महाकाली नदीमा बनाएकोे झोलुगें पुल जीर्ण बन्दै गएपछि बैतडी लगायत सुदूरपश्चिमवासी समस्यामा परेका छन् । सुदूरपश्चिमका पहाडी जिल्ला भित्रिने झुलाघाट पुरानो प्रवेशद्धार हो । यातायातको सुविधा नपुगेको समयमा सुदूर र कर्णालीका पहाडी जिल्लाका सर्वसाधारणको राजधानी काठमाडौं र भारत पस्ने प्रमुख नाका यही नै हो । अहिले पनि यही नाका भएर दैनिक सैयौं स्थानीय रोजगारको लागि भारतका विभिन्न शहर पस्ने गरेका छन । 

झुलाघाटसम्म दुबै देशले पक्की सडक निर्माण गरिसकेका छन् । गएको महिना मात्रै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले झुलाघाटमा पक्की पुल निर्माणको घोषणा गरे । सोही घोषणा अनुसार पुल निर्माणका लागि भारतीय पक्षले टेण्डर समेत आह्वान गरिसकेको छ । झुलाघाटमा पक्की पुल निर्माण नेपालीको मात्रै नभएर सीमावर्ती भारतीय नागरिकको पनि चाहना रहेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने ‘नेपाल र भारतका सीमावर्ती क्षेत्रमा पारिवारिक, सामाजिक र धार्मिक सम्बन्ध रहेको छ । यी सम्बन्धहरुलाई जोगाइराख्न समेत झुलाघाट नाकामा पक्की पुल निर्माण आवश्यक छ ।’

Atrya hospital

भारत सरकारले पुल निर्माणका लागि प्रक्रिया अघि बढाइसकेकाले अब पुल निर्माण हुने आसा पलाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि लामो समयदेखि संघर्ष गरिएको र अहिले आएर माग सम्बोधन हुने आसा पलाएको उनले बताए । 

सुदूरपश्चिमका प्रसिद्ध पर्यटकीय धार्मिक स्थलमा भारतको उत्तराखण्ड राज्यबाट हजारौं पर्यटक आउने गरे पनि पुल नहुँदा सास्ती खेप्नु परेको उपाध्यक्ष भट्टले बताए । उनले भने ‘सुदूरपश्चिमका प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्रहरुमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । तर पक्की पुल नहुँदा उनीहरुले समेत सास्ती भोग्नुपरेको छ । अब पुल निर्माण भएमा धार्मिक पर्यटकको संख्या समेत वृद्धि हुने अपेक्षा गरिएको छ ।’

सीमा क्षेत्रमा मोटरेबल पुल नहुँदा सीमा क्षेत्रको व्यापार व्यवसाय समेत सुस्ताएको छ । पुल नभएकै कारण झुलाघाट क्षेत्रको व्यापार व्यवसाय सुस्त भएको पत्रकार भट्टले बताए । उनले भने ‘पहिला यो नाकाबाट धेरै व्यापार हुने गर्दथ्यो । तर अहिले पक्की पुल नभएकै कारण व्यापार व्यवसाय चौपट छ ।’

सीमा नाकामा मोटरेबल पक्की पुल नभएका कारण भरियाले बोकेरै पुल तार्नु पर्ने भएपछि सामान आयात निर्यात पनि महंगोमा हुने गरेको ब्यापारी बताउँछन । 

झुलाघाट नाका र सीमाका नागरिकको सम्बन्ध 

बैतडीमै सातओटा भगवती र सातओटा केदारका मन्दिर रहेका छन् । ती मन्दिरहरुमा दर्शन गर्नेमा अधिकांश भारतीय नागरिक पनि छन् । झुलाघाटमा पुल नभएकै कारण धेरै भारतीय नागरिकलाई भित्र्याउन नसकिएको पत्रकार लक्ष्मीदत्त पाण्डेय बताउँछन् । उनले भने ‘सुदूरका पहाडी जिल्लामा थुप्रै धार्मिक पर्यकटीय स्थलहरु छन् । ती पर्यटकीय क्षेत्रहरुको विकास र प्रचार प्रसारका लागि झुलाघाटमा पक्की पुल अनिवार्य छ ।’  

झुलाघाटमा पक्की पुल सुदूरपश्चिमका पहाडी जिल्लाको आर्थिक विकाससंग जोडिएको पुल हो । मध्यपहाडी लोकमार्ग अन्तर्गतको अन्तिम बिन्दु झुलाघाटमा पक्की पुलको निर्माण गर्न सके भारतीय बजारमा थुपै्र नेपाली उत्पादन निर्यात गर्न सकिने एक जना व्यापारी चक्रदेव पाण्डेयले बताए । उनले भने ‘झुलाघाटमा पुल बनेमा किसानहरुको स्थानीय उत्पादनले पनि बजार पाउनेछ । यसले आर्थिक अवस्थामा सुधार आउनेछ ।’

झुलाघाटमा पक्की पुल बनेमा बैतडीमा उत्पादित तरकारी,मह,घिउ, चिउरीको घिउले भारतीय बजारमा ठाउँ पाउने एकजना उद्यमी इन्द्रदेव शरण भट्टले बताए । ‘यताको घिउ, तरकारी र मह भारतीय बजारमा पठाउन सके यहाँका किसानहरुको आर्थिक अवस्थामा सुधार आउँछ । धनगढी महेन्द्रनगर पुर्याउनुभन्दा नजिकै भारतीय बजारमा बढी मूल्य पाइन्छ । तर मोटरेबल पुलको अभावमा स्थानीय उत्पादन निर्यात गर्न सकिएको छैन ।’ 

सीमावर्ती क्षेत्रमा लामो समयदेखि रोटीबेटीको सम्बन्ध रही आएको छ । नेपाली क्षेत्रका इष्टमित्र भारतीय क्षेत्रमा छन् भने भारतीय क्षेत्रका इष्टमित्र नेपाली क्षेत्रमा रहेका छन् । पारिवारिक भेटघाटका लागि समेत सीमामा पक्की पुल आवश्यक छ । 

झुलाघाटमा पक्की पुल निर्माण भए सुदूरपश्चिमका पहाडी जिल्लाहरुको आर्थिक अवस्थामा कायापलट हुने जानकारहरु बताउँछन् । पक्की पूल निर्माण भए यो क्षेत्रको धार्मिक पर्यटनको विकास हुने र भारतीय पर्यटकहरुलाई भित्र्याउन सकिने पाटनका दशरथचन्द नगरपालिका ८ का गणेशसिंह थापाले बताए ।  ‘भारतसंग रोटीबेटीको सम्बन्ध छ झुलाघाटमा पक्की पुल निर्माण भए यो सम्बन्ध विस्तार हुने र यसैका कारण आर्थिक गतिविधि बढ्छ’ उनले भने  

प्रकाशित मिति: शुक्रबार, असार १५, २०८०  १२:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update