भगवान शिवको घर मानिने कैलाश पर्वत अब भारतबाट हेर्न सकिने भएको छ । यसका लागि चीनको स्वशाषित भुमी तिब्बत जानु नपर्ने भारतीय मिडियाहरूले जनाएका छन् । उत्तराखण्डको पिथौरागढ जिल्लाको १८ हजार फिट अग्लो लिपुलेक पहाडबाट कैलाश पर्वत प्रष्ट देखिने दाबी गरिएको छ ।
यहाँबाट हिमालको हवाई दूरी ५० किलोमिटर छ । जहाँसम्म पुग्नका लागि अब दुइवटा बाटो बनाउने तयारी गरिएको भारतीय मिडिया दैनिक भाष्करले लेखेको छ ।
सो मिडियाका अनुसार यो नयाँ दर्शन मार्ग स्थानीय गाउँलेहरुले पत्ता लगाएका हुन् । गाउँलेको जानकारीमा अधिकारी र विज्ञको टोली पुगेर सडकको नक्सा, मानिसको बस्ने व्यवस्था, दर्शनस्थलसम्म पुग्ने बाटोलगायत अन्य व्यवस्थाको सर्वेक्षण गरिसकेको छ । उनीहरुले पर्यटन मन्त्रालयमा प्रतिवेदन पनि बुझाउँदै छन् ।
विज्ञ टोलीमा आएकी कृति चन्दले लिपुलेकको पहाड जहाँबाट देखिने पहाड नाभिडङभन्दा २ किलोमिटर माथि रहेको बताइन् । उनका अनुसार यहाँबाट ४–५ दिनको यात्रा गरेर कैलाश हिमालको दर्शन गर्न सकिन्छ । भक्तजनहरु सडकबाट धार्चुला र बुढी हुँदै नाभिडाङ पुग्नु पर्नेछ । यसपछि दुई किलोमिटरको आरोहण पैदल यात्रा गर्नु पर्नेछ ।
पुरानो लिपुलेक पुग्न २ किलोमिटर चढ्नुपर्छ, जुन सजिलो नभएको पर्यटन विभागले जनाएको छ । यहाँसम्म पुग्न बाटो पनि बनाउन सकिने भन्दै सर्बे सुरू गरिएको छ ।
यसैगरी, पिथौरागढकै जेओलिङ्काङ भन्दा २५ किलोमिटर माथि रहेको लिम्पियाधुरा चुचुरोबाट कैलाश हिमाल देख्न सकिने स्थानीय बासिन्दाले दाबी गरेका छन् ।
लिम्पियाधुरा शिखर नजिकै ओम पर्वत, आदि कैलाश र पार्वती सरोवर रहेका छन् । यहाँबाट कैलाश हिमाल देखेपछि यस क्षेत्रमा धार्मिक पर्यटनको दायरा बढाउने गरी कार्य अघि बढाइएको छ ।