Sagun Khabar
बर्षौंदेखि सडक छेउमा फोहर व्यवस्थापन, अझै बनेन् डम्पिङ साइड 

बैतडी –बैतडीको जेठो नगरपालिकाको रुपमा रहेको दशरथचन्द नगरपालिकाले बर्षौंदेखि सडक छेउमै फोहर व्यवस्थापन गरिरहेको छ । गोठलापानी बजार नजिकै सडक छेउमा फोहर फाल्ने गरेको नगरपालिकाले अहिले सम्म फोहर व्यवस्थापन गर्न सकेको छैन् । 

२०५४ सालमा स्थापना भएको नगरपालिकाले फोहर व्यवस्थापनका लागि अहिले सम्म डम्पिङ साइड निर्माण गर्न सकेको छैन् । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा हरेक बर्ष डम्पिङ साइड निर्माणको कुरा अटाउने भएपनि कार्यान्वयन भने हुन सकेको छैन् । 

बजारबाट निस्केको फोहर सडक छेउमा व्यवस्थापन गर्दा सडक भएर आवतजावत गर्ने मानिसहरुले नाक थुन्नुपर्ने अवस्था रहेको छ । जगन्नाथ बहुमुखी क्याम्पस नजिकै सडक छेउमा राख्ने गरिएको फोहरले विद्यार्थीहरुलाई समेत आवतजावतमा समस्या रहेको जगन्नाथ बहुमुखी क्याम्पसका स्ववियु सभापति धनी भट्टले बताए । उनले भने ‘बर्षौंदेखि सडक छेउमै फोहर फाल्ने गरिएको छ । यसले गर्दा विभिन्न रोगको संक्रमण हुने डर समेत रहेको छ ।’

Atrya hospital

फोहरको वर्गीकरण समेत नगरेर सडक छेउमा फालिएको फोहरमा आगो लगाउने गरिएको छ । फोहर बालेपछि निस्कने धुँवाले झन् समस्या निम्त्याएको स्थानीयहरुले बताएका छन् । बजारको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो नदिएको स्थानीयहरुले आरोप लगाउँदै आएका छन् । 

नगरपालिका स्थापना भएको ३ दशक पुग्नै लाग्दा समेत फोहर व्यवस्थापन नहुनु दुखद पक्ष रहेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । पछिल्लो समय नगरपालिकामा दुई सरकार आइसके पनि फोहर व्यवस्थापनमा चासो नदिएको उनको भनाइ छ । उनले भने ‘फोहर व्यवस्थापन, नगर सरसफाइ स्थानीय सरकारको दायित्व हो । तर त्यो दायित्वबाट नगर सरकार चुकेको छ ।’

फोहर व्यवस्थापनका लागि नगरपालिकाले भने जमीन नपाएको बताउँदै आएको छ । डम्पिङ साइड निर्माणका लागि जमीन नपाउँदा समस्या भइरहेको नगरपालिकाका नायब सुब्बा अमर कार्कीले बताए । डम्पिङ साइड निर्माणका लागि पटक–पटक जमीनको खोजी गरिरहेको भएपनि उपयुक्त जमीन नपाएको उनले बताए । 

पछिल्लो समयमा नगरपालिकाको वडा नं ६ झल्कोट भन्ने स्थानमा डम्पिङ साइड निर्माणका लागि स्थानीयहरुसंग छलफल भइरहेको छ । जमीनका हकदार भएका मान्छेहरुसंग डम्पिङ साइड निर्माणका बिषयमा छलफल भइरहेको भएपनि निष्कर्षमा भने पुग्न नसकिएको कार्कीले बताए । 

वडा नं १ र २ को फोहर भने देहीमाण्डौं क्षेत्रमा जमीन भाडामा लिएर व्यवस्थापन गर्ने गरिएको बताइएको छ । सदरमुकाम क्षेत्रको फोहर तेश्रो दिन उठाउने गरिएको छ भने वडा नं १ र २ को बजार क्षेत्रको फोहर हप्ता दिनमा उठाएर व्यवस्थापन गर्ने गरिएको छ । 

फोहर व्यवस्थापनका लागि पालिकाले पहल गरिरहेको दाबी गरेपनि सडक छेउमा फोहर फाल्ने कार्य राम्रो नभएको स्थानीयहरुको भनाइ छ । हरेक बेलाको चुनावमा सदरमुकामको फोहर व्यवस्थापन एजेण्डाको रुपमा उठान हुने भएपनि त्यसपछि कार्यान्वयन नहुने गरेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  ०७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update