Sagun Khabar
कारागारभित्रै कुटाकुट 

कैलाली-  कैलाली जिल्ला कारागारका कैदीहरूबिच हरेक दिन विवाद र तनाव हुन थालेपछि १६ जना कैदीको अन्यत्र सरुवा गरिएको छ। जेठ २२ गतेका दिन कैदीबन्दी र कारागारका कर्मचारीबिच विवाद भएपछि सरुवा भएको हो।

कारागार स्रोतका अनुसार लम्कीका भुपेन्द्र बडुवालको हत्या प्रकरणमा कैद भुक्तान गरिरहेका कैदी र चौकीदारबिच कुटाकुट भएको हो। कारागारभित्र यसअघि पनि विवाद हुने गरेको थियो। प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कारागारमा २२ गते बन्दीहरूबिच विवाद भएको बताए।

विवाद हुन थालेपछि १६ जनालाई अन्यत्र सारिएको प्रमुख जिल्ला अधिकारी कटेलले बताए। विवादपछि भएको कुटाकुटमा कारागारका चौकीदार सन्तोषकुमार शाही र खगेन्द्र बम लगायतका कैदीहरु घाइते भएका थिए। यो काण्डपछि हिजोमात्रै १६ जना कैदी र केही कर्मचारीलाई जेलबाट हटाइएको छ। उनीहरुलाई भैरहवा, नेपालगन्ज र नवलपरासी कारागारमा सारिएको छ।

तर, भुपेन्द्र हत्याकाण्डका अभियुक्तहरु भने कैलाली कारागारमै छन्। उनीहरुले कारागारभित्र गुन्डागर्दी गर्ने गरेको बताइएको छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १७:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update