Sagun Khabar
मोबाइल बैंकिङ ह्याक गरेर बैतडीका बोहराको ५ लाख २४ हजार रुपैयाँ चोरी

बैतडी –बैतडीको सुर्नया गाउँपालिका–७ कठमडाका बिरबहादुर बोहराको मोबाइल बैंकिङ ह्याक गरेर ५ लाख २४ हजार रुपैयाँ चोरी भएको छ ।

असोज १५ गते राति २ लाख ८७ हजार र असोज १६ गते राति २ लाख ३७ हजार रुपैयाँ गरी ५ लाख २४ हजार रुपैयाँ चोरी भएको बोहराले बताए । विदेशमा मिहिनेत गरेर कमाएको रकम मोबाइल बैंकिङ ह्याक गरेर क्षणभरमै चोरिएपछि आफू रित्तिएको उनले बताएका छन् । उनले भने, ‘आफूले नखाइ, नलाइ गरेर बचत गरेको रकम चोरी भयो । बालबालिकालाई पढाउनका लागि भनेर बैंकमा राखेको हुँ । रकम चोरी भएपछि निकै तनावमा छु ।’

असोज १५ गते राति उनको रकम चोरी हुनुभन्दा पहिला अकस्मात मोबाइलको स्क्रीन अफ भएको बोहराले बताए । त्यसबेला कुनै शंका नगरेका बोहराले भोलिपल्ट खाता जाँच गर्दा ८४ रुपैयाँ शात्रै बाँकी रहेको थाहा पाएका थिए ।

त्यो भन्दा अगाडि मोबाइल बैकिङ अपडेट गरेको बोहराले बताए । मोबाइल बैंकिङ खोल्दा अपडेट मागेपछि उनले अपडेट गरेको बताए । 

‘मोबाइलमा अकस्मात स्क्रिन अफ भयो, केही भएको होला भनेर चासो दिइएन । भोलिपल्ट खाता चेक गर्दा ८४ रुपैयाँ मात्रै देखियो,’ बोहराले भने, ‘विदेशमा मिहिनेत गरेर कमाएको सबै रकम गायब भयो ।’

पहिलो दिन रकम चोरी हुँदा मोबाइलमा कुनै म्यासेजसमेत नआएको उनको भनाइ छ । दोश्रो दिन मोबाइल बैंकिङ चलेपछि स्टेटमेन्ट हेर्दा ८४ रुपैयाँ मात्रै बाँकी रहेको उनको भनाइ छ । 

ग्लोबल आइएमइ बैंकमा रहेको खाताबाट रकम चोरिएपछि उनले बैंकको डडेल्धुरा शाखामा पुगेर घटनाबारे जानकारी गराएका छन् । यस्तै घटनाबारे प्रहरीमा समेत निवेदन दिएको बोहराले बताए । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

पछिल्लो समय बैतडीमा मोबाइल बैंकिङ ह्याक गरेर रकम चोरीका घटना बढ्दै गएका बताइएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update