Sagun Khabar
आलुखेतीबाट मनग्गे आम्दानी गर्दै बैतडीका किसान 

बैतडी –व्यवसायिक आलुखेतीमा लागेका बैतडीका किसानहरुले मनग्गे आम्दानी गर्न थालेका छन् । जिल्लाको आलु उत्पदान हुने क्षेत्रका किसानहरु व्यवसायिक आलुखेतीबाट मनग्ने आम्दानी गर्न थालेका हुन् । जिल्लाको पाटन नगरपालिका वडा नं ८, ९ र १० लाई आलु उत्पादनका लागि पकेट क्षेत्रका रुपमा लिइएको छ । 

पकेट क्षेत्रका किसानहरुलाई स्थानीय सरकारबाट पनि आलुखेती विस्तारका लागि सहयोग गरिएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । आलुखेतीको पकेट क्षेत्रका किसानहरुलाई नगरपालिकाका तर्फबाट विभिन्न चरणमा आर्थिक तथा प्राविधिक सहयोग गरिएको उनले बताए । उनले भने ‘पकेट क्षेत्रका किसानहरुले आलुखेतीबाटै मनग्गे आम्दानी गरिरहेका छन् । सिजनमा आलुबाट किसानहरुको कमाइ राम्रो रहेको छ ।’

Atrya hospital

पाटन नगरपालिका वडा नं ८ को खोड्पेमा सिगास बहुउद्देश्यीय कृषि सहकारी संस्थामा आवद्ध सदस्यहरुले व्यवसायिक आलुखेती गरिरहेका छन् । उनीहरुले यो सिजनमा ५० हजारदेखि ४ लाख सम्म कमाउने गरेका कृषि सहकारी संस्थाका अध्यक्ष नरबहादुर बिष्टले बताए । आम्दानीको मुख्य श्रोतको रुपमा आलु बाली रहेको उनले बताए । उनले भने ‘आलुखेती नै हाम्रो आम्दानीको श्रोत हो । सिजनमा हामीले आलुबाटै घरपरिवार चलाउनेदेखि लिएर अन्य कामका लागि आम्दानी गर्ने गरेका छौं ।’

सहकारी संस्थामा आवद्ध ३५ परिवारले व्यवसायिक रुपमा आलुखेती गरिरहेका बिष्टले बताए । आलु पकेट क्षेत्रको विकासका लागि नगरपालिकाले २ लाख ३० हजार अनुदान समेत दिएको थियो । 

खोड्पेमा फागुनमा लगाएको आलु असारदेखि खन्ने क्रम शुरु हुने गर्दछ । केही ठाउँमा पहिला लगाएको आलु खन्न शुरु गरिएको बिष्टले बताए । 

आलुखेतीबाट किसानहरुले आम्दानी गर्ने गरेको पाटन नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी जयन्ती बिजलेले बताइन् । आलुखेतीबाट आफूहरुले मनग्गे आम्दानी गरिरहेको उनले सुनाइन् । 

खोड्पे क्षेत्रमा फलेको आलु तराँईका जिल्लाहरुमा पुग्ने गरेको छ । सिजनमा आलुखेतीबाट किसानहरुले लाखौं आम्दानी गर्ने गरेको उनले बताइन् । 

पाटन नगरपालिका ९ किचारमा सिगास तरकारी समूहले पनि व्यवसायिक आलुखेती गरिरहेको कृषि शाखा प्रमुख अवस्थीले बताए । उनले भने ‘जिल्लाका आलु उत्पादन हुने क्षेत्र मध्ये खोड्पे पनि प्रमुख क्षेत्र हो । यो क्षेत्रका किसानहरुले आलुबाटै मनग्गे आम्दानी गरिरहेका छन् ।’
 

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update