Sagun Khabar
झुलाघाटमा मोटरेबल पुल निर्माणको घोषणाले छाएको खुुुसी 

बैतडी –भारतसंगको सीमा नाका झुलाघाटमा मोटरेबल पुल निर्माण हुने भएपछि दुवै देशका नागरिक खुुसी भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भारत भ्रमणको समयमा बिहीबार उनका समकक्षी नरेन्द्र मोदीले झुलाघाटमा पुल निर्माणको घोषणा गरेपछि दुवै देशका नागरिक खुसी भएका हुन् । 

बिहीबार भएको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले सुदूरपश्चिमलाई भारतसंगको व्यापारमा कनेक्टीभिटी बढाउनका लागि झुलाघाट र शीर्षमा मोटरेबल पुल निर्माणको घोषणा गरेपछि यो क्षेत्रका नागरिक खुसी भएका छन् । 

भारतसंगको पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा करीब २ सय बर्ष अगाडि निर्माण भएको झोलुंगे पुलबाट आवतजावत भइरहेको छ । झुलाघाटमा पुल निर्माणका लागि सीमावर्ती दुवै देशका नागरिकले लामो समयदेखि माग गर्दै आएका थिए । प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा पुल निर्माणको घोषणाले अब मोटरेबल पुल निर्माण हुने आसा पलाएको शाहीलेकका स्थानीय व्यापारी विरेन्द्रराज पाण्डेयले बताए । उनले भने ‘भारतीय प्रधानमन्त्री आँफैले पुल निर्माण गर्ने घोषणा गरेकाले अब पुल निर्माण हुने आसा पलाएको छ । यो नाकामा पुल निर्माण भएमा दुवै देशका नागरिकलाई सहज हुनेछ ।’

Atrya hospital

पुल निर्माणको घोषणालाई छिटै कार्यान्वयनमा लैजानुपर्नेमा पाण्डेयले जोड दिए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना घोषणा भएको लामो समयसम्म कार्यान्वयनमा नगएको बताउँदै उनले पुल निर्माणमा त्यसो हुन नहुने बताए । उनले भने ‘झुलाघाटमा मोटरेबल पुल निर्माणको घोषणा कार्यान्वयनका लागि दुवै देशले तदारुकता देखाउनु आवश्यक छ ।’

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघले लामो समयदेखि माग गर्दै आएको थियो । भारतीय राजदूतावासमा हस्ताक्षर बुझाउनेदेखि लिएर अनसनको समेत आयोजना गरिएको थियो । ढिलै भएपनि पुल निर्माणको घोषणाले खुसी छाएको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । उनले भने ‘झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा यो क्षेत्रको मूहार फेरिने आसा गरेका छौं ।’

सुदूरपश्चिम क्षेत्र धार्मिक पर्यटनको प्रचुर सम्भवाना बोकेको क्षेत्र भएकाले धार्मिक पर्यटक भित्र्याउन समेत यो पुलले ठूलो सहयोग गर्ने भट्टले बताए । सुदूरपश्चिमका धार्मिक क्षेत्रमा भारतीय दर्शनार्थीहरु समेत आउने भएकाले पुल निर्माण भएमा उनीहरुलाई समेत सहज हुने उनले बताए । उनले भने ‘हाम्रो क्षेत्र धार्मिक पर्यटनको प्रचुर सम्भावनाको क्षेत्र हो । यहाँका मठमन्दिरहरुमा भारतीय दर्शनार्थीहरु समेत आउने गरेका छन् । पुल निर्माण भएमा सहजै रुपमा भारतीय दर्शनार्थीहरु यहाँ आउन सक्छन् ।’

नेपाल र भारतका सीमा क्षेत्रमा पारिवारिक सम्बन्ध समेत रहेको छ । वारी–पारी बिहेबारी समेत हुने गरेको छ । झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा पारिवारिक सम्बन्ध समेत थप हुँदै जाने दशरथचन्द नगरपालिका ८ का गणेशसिंह थापाले बताए । उनले भने ‘सीमा क्षेत्रमा दुवै देशबीच रोटी–बेटीको सम्बन्ध छ । झुलाघाट नाकामा मोटरेबल पुल निर्माण भएमा यो सम्बन्ध थप बलियो हुनेछ ।’

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणा अब छिटै कार्यान्वयनको चरणमा जानुपर्ने थापाले बताए । पुल निर्माण भएमा दुवै देशका सीमावर्ती क्षेत्रमा आर्थिक, पारिवारिक, सामाजिक र सांस्कृतिक सम्बन्धहरु थप विकसित हुने उनले बताए । 

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको घोषणाले भारतीय नागरिक समेत खुसी भएका छन् । भारतको झुलाघाट र पिथौरागढमा अधिकांश नेपाली ग्राहक पुग्ने गरेका छन् । मोटरेबल पुल निर्माण भएमा व्यापार व्यवसाय फस्टाउने भन्दै भारतीय व्यापारीहरु समेत खुसी भएका भारतीय पत्रकार प्रमोदकुमार भट्टले बताए । उनले भने ‘सीमा क्षेत्रका बासिन्दाहरु लामो समयदेखि पारिवारिक सम्बन्धमा छन् । पुल निर्माण भएमा सहज रुपमा आवतजावत हुने र यसले सम्बन्ध समेत थप बलियो हुनेछ ।’
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update