Sagun Khabar
दनपाको नीतिमा प्रत्येक बर्ष ल्याण्ड फिल साइड : कार्यान्वयन कहिले ? 
फाइल फोटो

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले जनप्रतिनिधि आएपछि हरेक बर्षको नीति तथा कार्यक्रममा ल्याण्ड फिल साइड निर्माण गर्ने कुरा समेटेको हुन्छ तर कार्यान्वयन भने हुन सकिरहेको छैन् । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा पनि नगरपालिकाले ल्याण्ड फिल साइड निर्माण गर्ने कुरा उल्लेख गरेको छ । 

जिल्लाको सबैभन्दा पुरानो नगरपालिका र सदरमुकाम भएको नगरपालिका भएपनि दशरथचन्दमा ल्याण्ड फिल साइड नहुँदा फोहर व्यवस्थापन निकै चुनौती देखिएको छ । अहिले पनि फोहर व्यवस्थापनका लागि उचित ठाउँ नहुँदा नगरपालिकाले सडक छेउमै फोहर व्यवस्थापन गर्ने गरिएको छ । ‘फोहर व्यवस्थापन नहुँदा नगरपालिका जस्तो भएको छैन् । बजारको फोहर सडक छेउमै व्यवस्थापन गर्ने गरिएको छ । यसले समस्या निम्त्याउने गरेको छ ।’स्थानीय खगेन्द्र भट्टले भने, ‘फोहर व्यवस्थापनमा नगरपालिकाले चनाखो हुनु आवश्यक छ ।’

Atrya hospital

फोहर व्यवस्थापन नहुँदा बर्षातको समयमा विभिन्न खालका स्वास्थ्य समस्याहरु आउन सक्ने स्वास्थ्यकर्मीहरुले चेतावनी दिएका छन् । फोहरलाई वर्गीकरण गरेर व्यवस्थापन गर्नुपर्ने भएपनि दशरथचन्द नगरपालिकाले ल्याण्ड फिल साइडको अभावमा सबै फोहर एकै ठाउँमा व्यवस्थापन गर्ने गरेको छ । ‘सडक छेउमै फोहर व्यवस्थापन गरिएको छ । त्यसमा पनि सबै खाले फोहर एकै ठाउँमा राखिएको छ । यसले विभिन्न स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।’

प्रत्येक बर्ष नीति तथा कार्यक्रम र बजेटमा ल्याण्ड फिल साइड निर्माण गर्ने कुरा उल्लेख गरिएको भएपनि जमीन नपाउँदा समस्या हुने गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए । नगरपालिकाले ल्याण्ड फिल साइड निर्माणका लागि जमीन खोज्न थालेको बर्षौं भईसकेको भएपनि कहिँ जमीन पाउन नसकेको उनको भनाई छ । ‘हामीले प्रत्येक बर्ष ल्याण्ड फिल साइड निर्माणका लागि बजेट विनियोजन गर्दै आएका छौं । तर जमीन मिल्दैन । हरेक बर्ष जमीनको खोजी गरिरहेकै हुन्छौं ।’चन्दले भने, ‘आगामी बर्षमा जसरी पनि ल्याण्ड फिल साइड निर्माणका लागि जमीनको खोजी गर्छौं । उपयुक्त स्थानमा जमीन नमिलेकै कारण हामीलाई समस्या भएको छ ।’

वातावरणीय हिसाबले उपयुक्त स्थानमा जमीन नपाइएको उहाँले दाबी गर्नुभयो । आगामी आर्थिक बर्षमा पनि ल्याण्ड फिल साइड निर्माणका लागि जमीनको खोजी गरिने चन्दले जानकारी दिए । 

गत बर्ष जिल्लाको दशरथचन्द नगरपालिका ६ आमपिपल भन्ने स्थानमा फोहर व्यवस्थापन गरिरहेको नगरपालिकाले त्यहाँ पनि खाल्डो भरिएपछि अहिले जगन्नाथ बहुमुखी क्याम्पस नजिकै सडक छेउमा फोहर व्यवस्थापन गरिरहेको छ । सडक छेउमै फोहर व्यवस्थापन हुँदा आवतजावत गर्नेहरुलाई निकै समस्या भएको छ । 

नगरपालिकाले दशरथचन्द नगरपालिका ४ को एक ठाउँमा जमीन हेरेपनि त्यहाँ पनि स्थानीयहरुको विरोध भएपछि ल्याण्ड फिल साइड निर्माण गर्न सकेको छैन् । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update