Sagun Khabar
झुलाघाटमा मोटरेबल पुल निर्माणको चर्चा, दुवै देशका नागरिक खुसी
फोटो :झुलाघाट नाकामा महाकाली नदीमाथिको झोलुंगे पुल

 बैतडी –भारतसंग सीमा जोडिएको झुलाघाटमा मोटरेबल पुल निर्माणको चर्चा चलेको छ । लामो समयदेखि दुवै देशका नागरिकले यो नाकामा महाकाली नदीमाथि मोटरेबल पुल निर्माणको माग गर्दै आएका थिए । 

नेपाल –भारत जोड्ने मोटरेबल पुल निर्माणका लागि भारतीय पक्षले पुल निर्माण क्षेत्रको स्थलगत अध्ययन गरेपछि झुलाघाटमा मोटरेबल पुल निर्माणको आसा पलाएको दशरथचन्द नगरपालिका ८ गणेशसिंह थापाले बताए । उनले भने ‘यो नाकामा मोटरेबल पुल आवश्यक छ । मोटरेबल पुल निर्माण भएमा यो क्षेत्रको सामाजिक र आर्थिक अवस्थामा सुधार आउँछ ।’

झुलाघाट नाकामा अहिले झण्डै दुई सय बर्ष पुरानो झोलुंगे पुलबाट आवतजावत भइरहेको छ । यो नाकामा मोटरेबल पुल निर्माणका लागि सन् २००६ बाटै चर्चा शुरु गरिएको भएपनि बल्ल आएर पुल निर्माणको काम अघि बढ्ने संकेत देखिएको थापाले बताए ।

Atrya hospital

झोलुंगे पुल रहेको क्षेत्रमा १ सय ५ मिटर लम्बाइको मोटरेवल पुल बनाउने योजना रहेकोमा  पञ्चेश्वर परियोजनाको डुबान क्षेत्रमा पर्ने भन्दै काम अगाडि बढ्न सकेको थिएन् । 

अब बन्ने बन्ने मोटरेबल पुल भारततर्फ  एसएसबी क्याम्प भन्दामाथि र नेपालतर्फ मौराभिरमा रहेको सशस्त्र प्रहरीको बीओपी नजिक पुल निर्माण स्थलको अवलोकन गरिसकिएको छ । अब बन्ने पुलको लम्बाई ५ सय मिटरको हुने बताइएको छ । 

मोटरेबल पुल निर्माणका लागि करिब ४ सय करोड लागत अनुमान गरिएको छ । त्यसअघिको सर्भे कार्य, डीपीआर र मुआब्जाका लागि बेग्लै २० करोड रुपैयाँ लाग्ने अनुमान छ । 

प्रधानमन्त्रीको भारत भ्रमणको चर्चा चलिरहेका बेला यो पुललाई प्राथमिकता दिनुपर्ने आवाज उठेको छ । झुलाघाटमा मोटरेबल पुल निर्माणको मुद्दालाई प्रमुख प्राथमिकताका साथ उठाउनुपर्ने उद्योग वाणिज्य संघ बैतडीका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने ‘झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि हामीले बर्षौंदेखि माग र संघर्ष गर्दै आइरहेका छौं । यो नाकामा पुल निर्माण भएमा दुवै देशका नागरिकलाई फाइदा हुनेछ ।’

झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा सुदूरपश्चिमका जिल्लाहरुको व्यापार व्यवसायमा निकै फाइदा पुग्ने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । उनले भने ‘व्यापारिक हिसाबले पनि यो नाका निकै महत्वपूर्ण छ । मोटरेबल पुल निर्माण भएमा यो क्षेत्रको समृद्धिको ढोका खुल्नेछ ।’

धार्मिक पर्यटकलाई सहज हुने

झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा नेपालका विभिन्न धार्मिक स्थलमा दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकहरुलाई सहज हुनेछ । बैतडीका त्रिपुरासुन्दरी, निङ्गलाशैनी, उदयदेव, मेलौली, शिवनाथ, गणमेश्वर, देवताल लगायतका मन्दिरमा हजारौं भारतीय दर्शनार्थी आउने गरेका छन् । झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा धार्मिक पर्यटकहरुलाई सहज हुने स्थानीय आनन्दमणी भट्टले बताए । उनले भने ‘हाम्रो जिल्लामा रहेका धार्मिक मठमन्दिरहरुमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । यो पुल निर्माण भएमा धार्मिक पर्यटकहरुको संख्या अझै बढ्नेछ ।’

जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरीको जात्रामा भारतबाट सैयौंको संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका छन् । मोटरेबल पुल निर्माण भएमा भारतीय दर्शनार्थीहरुलाई समेत सहज हुने भारतीय पत्रकार प्रमोद भट्टले बताए । उनले भने ‘झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा दुवै देशको सामाजिक, धार्मिक र आर्थिक पक्ष बलियो हुनेछ । सीमा पहिलादेखि नै रोटीबेटीको सम्बन्ध रहेको छ । यो सम्बन्धलाई अझै मजबुत बनाउन पुल निर्माण आवश्यक छ ।’

अर्थतन्त्रमा सुधार हुने अपेक्षा 

झुलाघाट नाकाबाट अहिले पनि सैयौं नागरिक ओहोरदोहर गर्ने गरेका छन् । भारतीय बजार झुलाघाटबाट दैनिक उपभोग्य सामग्री अहिले पनि ल्याउने गरिएको छ । झुलाघाटमा मोटरेबल पुल निर्माण भएमा यहाँ उत्पादित तरकारी, फलफूल र महले भारतीय बजारमा स्थान बनाउने स्थानीय इन्द्रदेवशरण भट्टले बताए । पुल नभएकै कारण यहाँ उत्पादित कृषि उपजहरुलाई बजार पुर्याउन नसकिएको उनको भनाइ छ । 

यो नाकामा मोटरेबल पुल निर्माण भएमा आर्थिक गतिविधि बढ्ने बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । उनले भने ‘यो नाकामा मोटरेबल पुल निर्माण भएमा धेरै सहज हुनेछ । यसलाई दुवै देशका सरकारले प्राथमिकतामा राख्नु आवश्यक छ ।’
 

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update