Sagun Khabar
दोधारा चाँदनी सुख्खा बन्दरगाहका लागि भारतले नेपाली सीमासम्म ट्र्याक खोल्यो 

कञ्चनपुर – भारतीय पक्षले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ गडिगोठसम्म सुख्खा बन्दरगाहका लागि पहुँचमार्गको ट्र्याक  खोलेको छ । दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ रुख कटान गरेर नेपाली सीमासम्म पहुँचमार्ग ट्रयाक खोलिएको हो ।

भारतीय पक्षले सीमावर्ती बजार चक्करपुरमा पर्ने राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँचमार्गको ट्रयाक खोलेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बूले जानकारी दिए । पारितर्फ नेपाली सीमासम्म जोड्ने सडकको ट्रयाक खोल्ने काम सकिएको उनको भनाई छ ।

Atrya hospital

उत्तराखण्डको चम्पावत जिल्लामा पर्ने चकरपुरदेखि नेपाली भूमि गडिगोठसम्म झण्डै चार किलोमिटर दुरीको चार लेनको पहुँचमार्गको ट्रयाक खोलिएको छ । पहुँचमार्ग निर्माणका लागि गएको कात्तिकमा दुई अर्ब रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार डेढ वर्षभित्र पहुँचमार्ग निर्माणको काम गरिसक्नुपर्छ । पहुँचमार्ग क्षेत्रमा पर्ने भारतीय वनका झण्डै दुई हजारभन्दा धेरै रूख काटेर ट्रयाक खोलिएको हो । ट्रयाक खोलिएसँगै अब पहुँचमार्गमा कालोपत्रेको काम अगाडि बढ्ने छ ।

यो मार्गले नेपाल–भारतलाई व्यापारसँगै यातायात सेवालाई पनि जोड्ने छ । दोधारा चाँदनी नगरपालिका–१ मा सुख्खा बन्दरगाह निर्माण गर्ने तयारी छ । दुई दशकअघिदेखि चर्चामा रहेको सुख्खा बन्दरगाह निर्माणस्थलको गएको फागुन १ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरीक्षण गरेका थिए । तीन वर्षमा सुक्खा बन्दरगाह निर्माण गर्नेगरी भारतसँग सम्झौता गर्ने उनले प्रतिबद्धता जनाएका थिए । 

सुख्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना निर्माण गर्नका लागि भारत सहमत भएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । उनका अनुसार प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको क्रममा सुख्खा बन्दरगाहको एमओयु गर्ने गृहकार्य भइरहेको छ । आयोजना निर्माण गर्न मायापुरी र गौरीशङ्कर सामुदायिक वनको झण्डै दुई सय ८० बिघा जमिन प्रयोग हुनेछ ।

यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुख्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । तर स्थानीयको विरोध र भारतसँगको पहुँचमार्गमा समस्या हुने भएपछि सुख्खा बन्दरगाह निर्माणस्थल दोधारा चाँदनी–१ लाई प्रस्ताव गरिएको थियो । सुख्खा बन्दरगाहकै लागि महाकाली नदीमाथि चार लेनको पक्की पुल निर्माण भएको छ ।

पूर्वपश्चिम राजमार्गको अन्तिम बिन्दु गड्डाचौकीदेखि दोधारा चाँदनी–१ को मलेरिया नालासम्मको आठ किलोमिटर पहुँच मार्ग निर्माणको काम पनि लगभग अन्तिम चरणमा रहेको छ ।  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण भए सुदूरपश्चिम क्षेत्र व्यापारिकरूपमा भारतसँग जोडिनेछ । यसका साथै भारतको राजधानी नयाँदिल्ली र औद्योगिक नगरी रुद्रपुरसम्म पनि सहज पहुँच हुने र यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुनेमा स्थानीयको विश्वास छ ।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १४:३५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update