Sagun Khabar
सिगासकी बेलमतीको हत्यापछि पाँच सन्तानको विचल्ली 

बैतडी –बैतडीको सिगास गाउँपालिका–२ पिडेगोदा गाँजरीकी ३४ बर्षीया बेलमती धामीको हत्या भएपछि उनका पाँच सन्तानको विचल्ली भएको छ । 

भदौ २२ गते रातिको समयमा बेलमतीका भतिजा यज्ञसिंह धामीले बञ्चरो प्रहार गरेर काकी बेलमती धामीको हत्या गरेका थिए । चार बर्ष अघि जण्डिस रोगबाट श्रीमान गुमाएकी बेलमती समेत नरहेपछि उनका पाँच छोराछोरीको विचल्ली भएको हो । 

आमा–बुवा दुवै गुमाएका बालबालिकाहरुको घरमा कोही पनि अभिभावक नरहेको मृतक बेलमतीका भाइ केशव बिष्टले बताए । उनले भने, ‘दीदीको मृत्यु भएपछि बालबालिकाहरुको विचल्ली भएको छ । उनीहरुको घरमा रेखदेख गर्ने मान्छे कोही पनि छैन् ।’

घरको साहरा ढलेपछि अहिले बालबालिकाहरुलाई सम्हालिन निकै समस्या भएको स्थानीय सूर्यबहादुर बोहराले बताए । पीडित बालबालिकाहरुका लागि सहयोग अभियान सञ्चालन गरिएको उनले बताए । अभियानमार्फत संकलित रकम बालबालिकाहरुलाई प्रदान गरिने बोहराले बताए । 

बेलमतीकी जेठी छोरी कक्षा ९ मा पढ्छिन् । अब बाँकी तीन बहिनी र एक भाइको पालनपोषण गर्ने जिम्मा उनकै काँधमा आएको छ । बेलमतीको परिवारमा निकै समस्या रहेको वडाध्यक्ष ठगेन्द्रसिंह ऐरले बताए । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update