Sagun Khabar
सडक कालोपत्रे गरेको एक महिना नपुग्दै उप्किएपछि ...
फोटो :  गढी –गोठलापानी सडकमा हालिएको टालो 

बैतडी –जिल्ला सदरमुकाम गढी–गोठलापानी जोड्ने सडक कालोपत्रे भएको एक महिनामै उप्किएपछि । सडक कालोपत्रे गरेको ठाउँठाउँमा उप्किएपछि अहिले टाला हाल्ने काम शुरु भएको छ । सम्झौता भएको ३ बर्षपछि कालोपत्रे गरिएको सडक एक महिना नपुग्दै पीच उप्किएपछि यसले विकास निर्माणका कामहरुलाई गिज्याएको छ । 

सो सडकलाई १८ महिनाभित्र स्तरोन्नती गरिसक्ने भनेर आर्थिक बर्ष २०७४÷७५ मा के.एस.कन्सट्रक्सनसंग सम्झौता भएको थियो । तर दुई पटक म्याद थपेर पनि सो सडक स्तरोन्नती गर्ने कार्य अझै सकिएको छ । सडक स्तरोन्नती गर्ने कार्य अन्तर्गत एक महिना अघि गरिएको कालोपत्रे उप्कन थालेपछि अहिले निर्माण कम्पनीले टालो हालिरहेको छ । सडक निर्माण कार्य सम्पन्न नहुँदै कालोपत्रे उप्किएपछि कमसल खालको काम गरिएको आँकलन गरिएको छ । 

Atrya hospital

जिल्लाको मुख्य प्रशासनिक निकाय जोड्ने बाटोमा समेत गुणस्तरीय काम नहुँदा यसले अन्य विकास निर्माणका कामहरु समेत प्रतिनिधित्व गर्ने स्थानीय धनबहादुर क्षेत्रीले बताए । उनले भने ‘लामो समयसम्म यो सडक कालोपत्रे गरिएन् । अहिले बल्लतल्ल कालोपत्रे गरेपनि एक महिनामै उप्किएपछि कसलाई के भन्ने ?’

प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका विभिन्न कार्यालयका कर्मचारीहरुको दैनिक हिड्ने बाटोको रुपमा रहेको गोठलापानी—गढी सडकको कालोपत्रे हेर्दा कमसल हुँदा समेत कसैले ध्यान नदिएको स्थानीय आनन्द भट्टले बताए । उनले भने ‘सदरमुकाममा सञ्चालित आयोजनाको त यो हालत छ भने दुर्गम क्षेत्रका योजनाहरुको के हालत होला ?’

सदरमुकाम क्षेत्रको सो सडक स्तरोन्नती गर्नका लागि केएस कन्सट्रक्सनले ३करोड ८० लाखको लागतमा ठेक्का पाएको भएपनि समयमै काम सम्पन्न गरिसकेको छैन् । अहिले पनि असार मसान्त सम्म ठेक्काको म्याद थपिएको भएपनि काम सम्पन्न हुने अवस्था नरहेको बताइएको छ । 

कालोपत्रे गरेको सडक उप्किएको ठाउँमा पुरै दोश्रो पटक कालोपत्रे गर्न आफूहरुले निर्माण कम्पनीसंग भनिसकेको सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय बैतडीका इन्जिनियर सुजन रेग्मीले बताए । उनले भने ‘एक महिना अघि गरिएको कालोपत्रे उप्किएको बिषयमा हामीले एक लेन पुरै दोश्रो पटक कालोपत्रे गर्ने भनेका छौं । टालो हालेर गरिएको काम मान्य हुनेछैन् ।’

सडकमा ढल निकासको व्यवस्था नहुँदा बर्षातको पानीले कालोपत्रे उप्काएको हो । सडकलाई स्तरोन्नती गर्ने कार्यमा केही व्यवहारिक कठीनाई समेत रहेका इन्जिनियर रेग्मीले बताए । मापदण्ड अनुसार सडक चौडा गर्न जमीन नपाएपछि सडक निर्माणमा केही ढिलाई भएको उनले स्वीकार गरे । 


 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ११:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update