Sagun Khabar
बैतडीको दनपाद्वारा नदीजन्य पदार्थको उत्खनन सम्बन्धि निर्देशिका पारित 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन र विक्रि वितरणलाई व्यवस्थित बनाउन तयार पारेको निर्देशिका पारित गरेको छ । मंगलबार सम्पन्न आठौं नगरसभाबाट नदीजन्य पदार्थ  संकलन, उत्खनन्, ओसारपसार तथा विक्रि वितरण र राजस्व बाँडफाँड सम्बन्धि निर्देशिका २०७८ पारित भएको हो ।  

नगरपालिकाको समन्वयमा रुडेस बैतडीले ट्रोसा परियोजना अन्तर्गत सो निर्देशिका तयार पारेको थियो । तटीय क्षेत्रका नागरिकका विभिन्न अधिकारहरुलाई सुरक्षित गर्नका लागि निर्देशिका बनाइएको र सभाबाट पारित भएकाले अब तटीय क्षेत्रका नागरिकलाई सहज हुने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने ‘नदीजन्य पदार्थहरु जथाभावी उत्खनन हुँदा विभिन्न खालका समस्याहरु आउने गरेका छन् । विभिन्न प्रकोपका घटनाहरु पनि हुने गरेका छन् । अब निर्देशिका अनुसार मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न पाइनेछ ।’

Atrya hospital

यसअघि निर्देशिकालाई अन्तिम रुप दिएर नगरप्रमुख नरेन्द्रसिंह थापालाई हस्तान्तरण गरिएको थियो । खास गरेर महाकाली नदीबाट उत्खनन हुने नदीजन्य पदार्थको व्यवस्थित उत्खननका लागि निर्देशिका बनाइएको जोशीले बताए । 

नदीजन्य पदार्थको उत्खनन सम्बन्धि निर्देशिका नगरपालिकाको सभाबाट पारित भएको र अब लागू हुने नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । निर्देशिकामा नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट व्यवस्था गरिएको रुडेसका बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए । 

सार्वजनिक पुर्वाधार विकास निमार्णका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको अभाव हुन नदिने, नदीजन्य पदार्थबाट प्राप्त राजस्वको बाँडफाँडका आधारहरु तय गर्ने,नदीजन्य पदार्थबाट प्राप्त राजस्व मार्फत स्थानीय तहमा समुचित तथा समतामुलक रुपमा  विकास गर्ने, नदीजन्य पदार्थ उत्खनन्् तथा ओसारपासार गर्ने कार्यमा आश्रित स्थानीय समुदायको जीवकोपार्जनका लागी आवश्यक नीति नियम बनाई लागु गर्ने  लगायतका उद्देश्य राखेर निर्देशिका बनाइएको कार्यकारी निर्देशक जोशीले बताए ।

यो निर्देशिका लागू भएपछि प्रभावित समुदायका नागरिकको जिविकोपार्जनका लागि आवश्यक कार्यक्रम समेत सञ्चालन गनुपर्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १८:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update