Sagun Khabar
जिल्ला अस्पताल बैतडीमा कोरोनाका बिरामीको संख्या शुन्य, ओपीडी सेवा शुरु गर्ने तयारी 

बैतडी –जिल्ला अस्पातल बैतडीमा कोरोनाका बिरामीको संख्या शुन्य भएको छ । कोरोनाको दोश्रो लहर फैलिएपछि जिल्ला अस्पतालमा मंगलबार पहिलो पटक कोरोनाका बिरामी शुन्यमा झरेका हुन् । 

कोरोनाको दोश्रो लहर फैलिएपछि गत महिना भने कोरोना बिरामीहरुलाई अस्पतालमा बेड उपलब्ध गराउन निकै समस्या थियो । जेठ महिनाको अन्तिम सातादेखि कोरोनाका बिरामीको संख्यामा कमी आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा.वसन्तराज जोशीले जानकारी दिए । उनले भने ‘तत्कालका लागि जिल्ला अस्पतालमा कोभीडका बिरामी छैनन् । अहिले संक्रमणदर पनि घटेको छ ।’

Atrya hospital

जिल्ला अस्पतालमा आउने कोरोनाका बिरामीहरु घट्दै गएका र अहिले संक्रमणदर पनि घट्दै गएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । कोरोना संक्रमणदर कम भएपनि जोखिम भने कायमै रहेको उनले बताए । उनले भने ‘अहिले अस्पतालमा आउने कोरोनाका बिरामीको संख्या घटेको छ । आज कोरोनाका बिरामी शुन्य छन् ।तर जोखिम भने कायमै छ । त्यसैले स्वास्थ्यका मापदण्ड अपनाउनु आवश्यक छ ।’

अस्पतालमा कोरोनाका बिरामीहरुको संख्या शुन्यमा झरेसंगै नियमित ओपडी सेवा सञ्चालनको तयारी समेत भएको सूचना अधिकारी पन्तले जानकारी दिए । कोरोनाका कारण आकस्मिक र प्रसुती सेवा बाहेकका सेवाहरु बन्द रहेका थिए । अब कोरोनाको संक्रमणदर घटेकाले ओपीडी सेवा नियमित रुपमा सञ्चालन गर्ने तयारी भएको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update