Sagun Khabar
बैतडी : पहिरोबाट विस्थापित ५ परिवार घर फर्के, दुई परिवार अझै विद्यालयमा 

बैतडी –बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं २ गैरटोलमा शनिबार बिहान खसेको पहिरोका कारण विस्थापित भएका सात परिवार मध्ये पाँच परिवार घर फर्केका छन् । पानी पर्ने क्रमम रोकिएपछि स्थानीय देवथला माविमा बसीरहेका ५ परिवार सोमबार घर फर्केका पञ्चेश्वर गाउँपालिका वडा नं २ का वडा अध्यक्ष दशरथ मंगोलाले बताए । लगातारको बर्षाले गाउँमै पहिरोको जोखिम बढेपछि सात परिवारलाई विद्यालयमा स्थानान्तरण गरिएको थियो । 

स्थानीय रामीराम औजी, देवानीराम औजी, रमेशराम औजी, मदनराम औजी र धनीराम औजीको परिवार विद्यालयबाट घर फर्केका वडा अध्यक्ष मंगोलाले बताए । उनले भने ‘अहिले पानी पर्ने क्रम रोकिएपछि उनीहरुलाई घरमा पठाएका छौं । बाँकी दुई परिवार अझै पनि विद्यालयमा बसीरहेका छन् ।’

Atrya hospital

पहिरोका कारण घर पूर्ण रुपमा क्षतिग्रस्त भएका कृष्णराम औजी र भवानीराम औजीको परिवार विद्यालयमै बसीरहेको छ । पहिरोले दुवैजना बस्दै आएको घर पुरेपछि आफूहरु विद्यालयमै बसीरहेको कृष्णराम औजीले बताए । उनले भने ‘हामी दुवै भाई एकै घरमा बस्ने गरेका हौं । पहिरोले घर लगेपछि अब केही पनि बाँकी रहेन् । घर बनाउने ठाउँ पनि छैन् । हामी कहाँ गएर बस्ने ?’

अहिले दुई परिवारका एघार जना विद्यालयको कोठामा बसीरहेका र समान्यतया खाद्यान्न व्यवस्था वडा कार्यालयले गरेको भएपनि उनीहरुलाई निकै समस्या भएको वडा अध्यक्ष मंगोलाले बताए । उनले भने ‘दुवै जनाको घर नै पहिरोले बगाएपछि उनीहरुलाई ओत लाग्ने ठाउँ छैन् । वडा कार्यालयबाट गर्न सकिने सहयोग गरिरहेको छु । पीडामा रहेका परिवारलाई अन्य ठाउँबाट सहयोग गरिदिन पनि अनुरोध गर्दछु ।’

विद्यालयमा सधैंभरी बस्न नसकिने भन्दै कृष्णराम औजी गास,बास र कपासको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेका छन् । उनले भने ‘हाम्रो समस्या सबैले हेरिदिउन । भोलीका दिनमा विद्यालय सञ्चालन होला त्यो बेला हामीले कहाँ जाने ? हाम्रो व्यवस्था गरिदिन सबैलाई अनुरोध गर्दछु ।’

लगातारको बर्षाका कारण बैतडीका विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय नागरिक प्रभावित भएका छन् । सोमबारदेखि पानी पर्ने क्रम रोकिएपछि केही सहज भएको छ । 
 

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  १६:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update