Sagun Khabar
रित्तिदै पहाडी बस्ती  

बैतडी – लगातारको बसाइसराईका कारण पहाडी बस्तीहरु रित्तिदै गएका छन् । पहाडका मानिसहरु अनवरत रुपमा तराई झर्दै गएपछि पहाडका बस्तीहरु रित्तिन थालेका हुन् । कलात्मक ढंगले बनेका घरहरु जीर्ण भईसकेका छन् भने धेरै घरहरु भत्किसकेका छन् । अवसरको खोजीमा धेरै मानिस पहाडबाट तराई सर्ने गरेका छन् । हालै सार्वजनिक गरिएको जनगणनाको रिपोटले पनि पहाडी क्षेत्रमा जनसंख्या घट्दै गएको देखाएको छ । 

बैतडीमा २०६८सालको तुलनामा पालिकाहरुको जनसंख्या घटेको पाइएको छ । विभिन्न कारणले बसाइसराईको दर बढेपछि जनसंख्या घटेको बताइएको छ । पछिल्लो समयमा पहाडबाट बसाइ सर्नेहरुको संख्या बढ्दै गएको स्थानीयहरुले बताएका छन् । ‘हाम्रो गाउँका सबै परिवार तराई झरिसकेका छन् । पुरानो कलात्मक शैलीमा बनेका घरहरु बाँझो र जीर्ण घरमा परिणत भईसकेका छन् । अधिकांश खेतहरु पनि बाँझै छन् ।’सुर्नयाका खेमराज अवस्थीले भने, ‘अब त सबै आफन्तहरु तराईमा बसाईसरेकाले पहाडमा नियास्रो लाग्न थालेको छ । गाउँ सबै घरहरु खण्डहर बनेका छन् । गाउँ नै उजाड देखिन्छ ।’

Atrya hospital

पहाडी क्षेत्रमा उब्जाउ पनि कम हुने र कमाई गर्ने श्रोतहरु समेत नहुँदा यहाँका धेरै नागरिक तराई झरेका स्थानीयबासी बताउँछन् । ‘रोजगारी भएका अधिकांश नागरिक तराई झरीसकेका छन् । गाउँमा पुराना जीर्ण घर र बाँझा खेत बाँकी छन् ।’दशरथचन्द नगरपालिका पौडाका गणेशदत्त भट्टले भने, ‘गाउँ नै रित्ता भईसकेका छन् । गाउँमा बस्ने मानिस थोरै छन् ।’

पहाडको भन्दा तराईमा धेरै अवसर र उब्जिने हुने जमीन भएकाले पनि पहाडबाट तराई जानेहरुको संख्या बढेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने ‘पहाडी क्षेत्रमा अपेक्षाकृत विकास नहुनु, रोजगारीका अवसर प्राप्त नहुनु लगायतका कारणले पहाडबाट बसाईसर्नेहरुको संख्या बढेको हो । अहिले त धेरै गाउँहरु रित्ता भईसकेका छन् । मैदानी फाँटहरु समेत बाँझो जमीनमा परिणत भईसकेका छन् ।’

उच्च शिक्षा अध्ययनका लागि समेत तराईमै उपलब्धता भएकाले पहाडका मानिस जसरी भएपनि तराई जाने होडमा रहेका क्याम्पस प्रमुख अवस्थीले बताए । उनि भन्छन्‘विकास निर्माणका सबै कामहरु तराईमै केन्द्रित भए । यसले गर्दा स्वर्गको टुक्रा स्वरुप रहेको पहाड रित्तिदै गएको छ । यहाँ भएका सम्भावनाहरुको खोजी गर्न तर्फ कसैको ध्यान गएन । त्यसले पनि पहाड रित्तिने अवस्थामा पुगेको हो ।’

पहाडी क्षेत्रबाट निरन्तर बसाईसराई भईरहेकाले यो क्षेत्रका सम्भावनाहरुको खोजी हुन नसकेको उद्यमी इन्द्रदेवशरण भट्टले बताए । उनले भने ‘पहाडमा हरेक चीजको सम्भावना छ । तर ती सम्भावनाहरुको खोजी नहुँदा समस्या भएको छ । पहाडबाट बसाईसर्ने दर बढी भएकाले  विकास पनि कम भएको छ ।’
 

प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  ०९:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update