Sagun Khabar
सीमा क्षेत्रमा ‘रोटी–बेटी’को सम्बन्ध 

बैतडी – बैतडी भारतसंग सीमा जोडिएको जिल्ला हो । बैतडीको ६२ किलोमिटर सीमा भारतसंग जोडिएको छ । सीमा क्षेत्रमा नेपाली र भारतीय नागरिकबीच परापूर्वकालदेखि नै पारिवारिक सम्बन्ध रही आएको छ । यसलाई ‘रोटी–बेटी’को सम्बन्धका रुपमा लिने गरिएको दशरथचन्द नगरपालिका १० का योगेन्द्रसिंह बिष्टले बताए । उनले भने ‘भारतसंग सीमा जोडिएका गाउँमा हामीहरुको पारिवारिक सम्बन्ध छ । वारीपारी बिहेबारी हुने गरेको छ । यसले गर्दा हामीलाई एकआपसमा पारिवारिक वातावरण बनाएको छ ।’

भारतसंग सीमा जोडिएको पुरानो नाका झुलाघाट हो । यो नाका भएर दैनिक सयौं नागरिक भारत आवतजावत गर्ने गरेका बिष्टले बताए । कतिपय नेपालीहरु भारतीय बजारमै व्यापार गरिरहेका समेत उनले बताए । यसले गर्दा सीमा क्षेत्रका बासिन्दामा आपसी सम्बन्ध रहँदै आएको बिष्टको तर्क छ । उनले भने ‘मेरी ठूलीआमाको माइती घर पिथौरागढ जिल्लामा पर्दछ । हाम्रो पारीपट्टी पारिवारिक सम्बन्ध समेत रहँदै आएको छ ।’

सीमा क्षेत्रका बासिन्दा सदियौंदेखि मिलेर बस्दै आएका दशरथचन्द नगरपालिका ८ का गणेशसिंह थापाले बताए । भारतसंग पारिवारिक, धार्मिक तथा सांस्कृतिक र आर्थिक सम्बन्ध रही आएको थापाको भनाइ छ । उनले भने ‘सीमा क्षेत्रका धेरै नागरिकको मुख्य बजार भारतीय बजार नै हो । सीमा क्षेत्रका बासिन्दा छिमेकी जस्तै बसीरहेका छौं । उनीहरुसंग पारिवारिक सम्बन्ध समेत रही आएको छ ।’

Atrya hospital

सीमा क्षेत्रका बासिन्दाहरुबीच पहिलादेखि नै बिहेबारी चल्दै आएको नागार्जुन मावि शर्मालीका प्रधानाध्यापक महामलसिंह साउँदले बताए । नेपाल र भारतदुवैतिर इष्टमित्र भएपछि आपसी सम्बन्ध समेत सीमा क्षेत्रमा राम्रो भएको उनले बताए । उनले भने ‘भारतीय सीमा क्षेत्रमा छिमेकी देशको मात्रै नभएर पारिवारिक सम्बन्ध पनि रही आएको छ । यसले गर्दा सीमा क्षेत्रका नागरिक सदियौंदेखि मिलेर बस्दै आएका छन् ।’

धार्मिक तथा सांस्कृतिक सम्बन्ध 

बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा चैतेदशैंको अवसरमा पूजापाठ गर्नेको घुँइचो छ । पूजापाठ गर्नेहरुमा भारतीय दर्शनार्थीहरु समेत रहेका छन् । सीमा क्षेत्रमा रहेको यो मन्दिरमा भारतको पिथौरागढबाट दर्शनार्थी आउने गरेका छन् । रणशैनी माताको रुपमा परिचित त्रिपुरासुन्दरीमा जात्राको बेला भारतीय दर्शनार्थी धेरै आउने गरेको स्थानीय मृगेन्द्रमणी भट्टले बताए । यसले गर्दा भारतीय नागरिकसंग धार्मिक तथा सांस्कृतिक सम्बन्ध समेत रही आएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा रहेको देवताल मन्दिर, शिवनाथ गाउँपालिकामा रहेको शिवनाथ मन्दिर र मेलौली नगरपालिकामा रहेको मेलौली भगवती मन्दिरमा यो समयमा भारतीय दर्शनार्थीहरु पुग्ने गरेका छन् । 

सीमा क्षेत्रका अधिकांश भारतीय नागरिक पूजापाठका लागि नेपाल आउने गरेको दशरथचन्द नगरपालिकाका निवर्तमान नगरप्रमुख नरेन्द्रसिंह थापाले बताए । त्रिपुरासुन्दरी भगवतीको मन्दिरमा जात्राको बेला भारतीय दर्शनार्थी आउने गरेको उनले बताए । उनले भने ‘भारतसंग सदियौंदेखि पारिवारिक, धार्मिक र सांस्कृतिक सम्बन्ध रहँदै आएको छ । यसले गर्दा सीमा क्षेत्रका नागरिकहरु मिलेर बसेका छन् ।’

बैतडीमा रहेका धार्मिक सम्पदाहरुमा भारतीय पर्यटकहरुलाई थप आकर्षण गर्न सकेमा यो क्षेत्रका आर्थिक अवस्थामा समेत सुधार आउने धेरैले औंल्याएका छन् । यहाँका विभिन्न मन्दिर तथा शक्तिपीठहरुमा भारतीय दर्शनार्थीहरु आउने गरेका छन् । यी क्षेत्रहरुमा सहजै पुग्ने वातावरण बनाउन सके यसले आर्थिक क्षेत्रमा समेत टेवा पुग्ने बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खीमानन्द भट्टले बताए । 

पुख्र्यौली घर नेपाल भएका तर धेरै पहिला भारतमा बसाइसरेकाहरु पनि पूजापाठको बेला नेपाल आउने गरेका छन् । नेपाल र भारतका सीमा क्षेत्रका बासिन्दकाबीच सदियौंदेखि पारिवारिक सम्बन्ध रहँदै आएको पिथौरागढ बस्दै आएका नारायण सोराडीले बताए । पूजापाठका लागि बैतडी पुगेको उनले दुवै देशबीच धार्मिक तथा सांस्कृतिक सम्बन्ध समेत रहेको औंल्याए । 

झुलाघाटमा मोटरेबल पुल बनाउनुपर्ने माग 

भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा डेढ सय बर्ष बढी पुरानो झोलुंगे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुरानो नाकाको रुपमा रहेको झुलाघाटमा मोटरेबल पुल नहुँदा यो क्षेत्रको आर्थिक गतिविधिमा सुधार आउन नसकेको धेरैले बताएका छन् । 

झुलाघाटमा मोटरेबल पुल निर्माणका लागि धेरै पटक आग्रह र आन्दोलन गरिसकेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । झुलाघाटमा मोटरेबल पुल निर्माण गर्न सके बैतडीको मात्रै नभएर सुदूरपश्चिमको आर्थिक विकासमा टेवा पुग्ने उनको दाबी छ । उनले भने ‘झुलाघाट नाकामा मोटरेबल पुल निर्माणका लागि धेरै पटक दबाब दिइसकेका छौं । तर अहिले सम्म बनिसकेको छैन् ।’

झुलाघाट नाकामा मोटरेबल पुल निर्माणको माग नेपालीको मात्रै नभएर भारतीय नागरिकको समेत माग रहेको भारतीय पत्रकार प्रमोद भट्टले बताए । नेपाल र भारतबीच पारिवारिक, धार्मिक तथा सांस्कृतिक र आर्थिक सम्बन्ध रहेकाले यो पुल निर्माण हुनुपर्नेमा उनले जोड दिए । 
 

प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १८:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update