
काठमाण्डाै – सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवरलाई नियुक्त गरेको छ ।
आज शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई बढुवा गरेर महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले केही दिनअघि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवा भएका मध्येबाट पहिलो वरीयतामा रहेका वसन्त कुँवर महानिरीक्षकमा नियुक्त हुनुभएको हो ।
यसअघि वरीयता मिचेर महानिरीक्षक नियुक्त हुने गरेको भन्दै सरकारको आलोचना हुँदै आएकोमा यस पटक सरकारले वरीयताको पहिलो नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेको हो । बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धामा हुनुहुन्थ्यो ।
कुँवरले एक वर्षसम्म प्रहरीको नेतृत्व गर्नुहुनेछ, त्यसपछि उहाँको अवकाश उमेर हुनेछ । आजै प्रहरी महानिरीक्षक धीरजप्रतापसिंहले भने अवकाश प्राप्त गर्नुभएकाे छ ।