बैतडी –बैतडीको शिवनाथ गाउँपालिका–६ बसेडी टोलमा मकै भण्डारणका लागि बनाइएको सिमेन्टको पोल भाँचिँदा १५ वर्षीया एक किशोरी गम्भीर घाइते भएकी छन् ।
स्थानीय लालसिंह धनाडीकी छोरी काजल धनाडी घाइते भएकी हुन् । गाउँपालिकाले उपभोक्ता समितिमार्फत निर्माण गरेको पोल भाँचिदा उक्त घटना भएको बताइएको छ ।
करीब एक साता अगाडि उक्त घटना भएको शिवनाथ गाउँपालिका–६ का वडा अध्यक्ष भरतराम पार्कीले बताए । घाइते धनाडीको दुवै खुट्टामा २५ वटा टाँका लागेको बताइएको छ । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा तीन÷चार दिन भर्ना गरेर उनको उपचार गरिएको र अहिले घरमा पठाएको स्वास्थ्य केन्द्रले जनाएको छ । काँजलको खुट्टामा लगाएको टाँका काट्न बाँकी रहेको बताइएको छ ।
घटनापछि शिवनाथ गाउँपालिकाले उपभोक्ता समितिलाई कार्यालयमा बोलाएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै वडा नं ६ मा बसेडी एक घर एक पोल निर्माण योजनाबाट बनेको पोल भाँचिदा दुर्घटना भएकाले उपभोक्ता समितिलाई साउन १ गते कार्यालयमा उपस्थित हुन भनेको छ ।
बसेडीमा १७ ओटा पोल निर्माणका लागि १ लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन गरिएको काम सम्पन्न भएको जनाइएको छ । तर पोल निर्माणका बिषयमा बुझ्दा निर्माणको क्रममा लापरवाही भएको देखिन आएकाले उपभोक्ता समितिका अध्यक्ष लगायत सचिव र कोषाध्यक्षलाई गाउँपालिकामा बोलाएको हो ।
स्थानीयबासीले पोलको गुणस्तरका बिषयमा प्रश्न उठाएका छन् । अधिकांश स्थानीयहरुले सामाजिक सञ्जालमार्फत उक्त घटना गुणस्तरीय पोल निर्माण नभएकै कारण भएकाले निष्पक्ष छानबीन गरि दोषीमाथि कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।






