Sagun Khabar
लगातारको बर्षाले बैतडीको सुर्नयामा एक घर भत्कियो 
फोटो : सुर्नया ४ का नरेश भुल र रमेश भुलको बर्षाले भत्किएको घर, तस्बिर : सुरेश महरा 

बैतडी-लगातारको बर्षाका कारण बैतडीको सुर्नया गाउँपालिका ४ मा एकजनाको घर भत्किएको छ । स्थानीय नरेश भुल र रमेश भुलको घर बर्षाका कारण भत्किएको रौलेश्वर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक भुवन चन्दले जानकारी दिए । 

घरको धुरी भाँचिएर घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । शनिबार रातीको समयमा घर भत्किएको पीडित नरेश भुलले बताए । उनले भने ‘एक्कासी धुरी भाँचिएको आवाज आउन थालेपछि हामी सबै घर बाहिर निस्केर ज्यान बचायौं । अहिले भाईको घरमा बसीरहेका छौं ।’

Atrya hospital

घर भत्किएपछि अहिले नरेश र रमेशको परिवार आफ्नै भाई जगदीश भुलको घरमा बसीरहेका प्रहरी सहायक निरीक्षक चन्दले बताए । घर भत्किएपछि करीब डेढ लाख बराबरको क्षति भएको छ । 

घर भत्किएको खबर पाएपछि सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्ट सहितको टोलीले पीडित परिवारलाई भेटेर राहत दिएका छन् । पीडित परिवारलाई तत्कालका लागि पालिकाका तर्फबाट ५० केजी चामल, ५ केजी दाल,३ केजी नुन, २ लिटर खानेतेल लगायतका खाद्य सामग्री वितरण गरिएको अध्यक्ष बिष्टले बताए । उनले भने ‘अहिलेका लागि पालिकाका तर्फबाट समान्य राहत वितरण गरेका छौं । पीडित परिवारलाई कसरी सहयोग पुर्याउन सकिन्छ भनेर छलफल गरिरहेका छौं ।’

 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update