Sagun Khabar
बैतडीको दशरथचन्दमा नदीजन्य पदार्थ उत्खननका लागि निर्देशिका तयार 
फोटो : निर्देशिकाको बिषयमा दशरथचन्द नगरपालिकाको कार्यपालिकामा छलफल हुँदै

बैतडी –बैतडीको दशरथचन्द नगरपालिकामा नदीजन्य पदार्थको उत्खनन र विक्रि वितरणलाई व्यवस्थित बनाउन निर्देशिका पारित गर्ने तयारी भएको छ । नदीजन्य पदार्थ  संकलन, उत्खनन्, ओसारपसार तथा विक्रि वितरण र राजस्व बाँडफाँड सम्बन्धि निर्देशिका २०७८ नगरसभाबाट पारित गर्ने तयारी भएको हो । 

नदी तथा खोलाबाट नदीजन्य पदार्थहरुलाई उत्खनन गर्ने कार्यलाई व्यवस्थित बनाउन निर्देशिका बनाइएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । 

Atrya hospital

नगरपालिकाको समन्वयमा रुडेस बैतडीले ट्रोसा परियोजना अन्तर्गत सो निर्देशिका तयार पारेको हो । तटीय क्षेत्रका नागरिकका विभिन्न अधिकारहरुलाई सुरक्षित गर्नका लागि निर्देशिका बनाइएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने ‘नदीजन्य पदार्थहरु जथाभावी उत्खनन हुँदा विभिन्न खालका समस्याहरु आउने गरेका छन् । विभिन्न प्रकोपका घटनाहरु पनि हुने गरेका छन् । विपद्बाट जोगाउन पनि निर्देशिकाले सहयोग गर्नेछ ।’

निर्देशिकाका बिषयमा कार्यपालिका सदस्यहरुसंग छलफल गरेर अन्तिम रुप दिइएको जोशीले बताए । खास गरेर महाकाली नदीबाट उत्खनन हुने नदीजन्य पदार्थको व्यवस्थित उत्खननका लागि निर्देशिका बनाइएको उनले सुनाए । नदीजन्य पदार्थको उत्खनन सम्बन्धि निर्देशिका नगरपालिकाले सभाबाट पारित गर्ने र त्यसपछि लागू हुने बताइएको छ । 

निर्देशिकामा नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट व्यवस्था गरिएको रुडेसका बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए । 

सार्वजनिक पुर्वाधार विकास निमार्णका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको अभाव हुन नदिने, नदीजन्य पदार्थबाट प्राप्त राजस्वको बाँडफाँडका आधारहरु तय गर्ने,नदीजन्य पदार्थबाट प्राप्त राजस्व मार्फत स्थानीय तहमा समुचित तथा समतामुलक रुपमा  विकास गर्ने, नदीजन्य पदार्थ उत्खनन्् तथा ओसारपासार गर्ने कार्यमा आश्रित स्थानीय समुदायको जीवकोपार्जनका लागी आवश्यक नीति नियम बनाई लागु गर्ने  लगायतका उद्देश्य राखेर निर्देशिका बनाइएको कार्यकारी निर्देशक जोशीले बताए ।

यो निर्देशिका लागू भएपछि प्रभावित समुदायका नागरिकको जिविकोपार्जनका लागि आवश्यक कार्यक्रम समेत सञ्चालन गनुपर्ने उल्लेख गरिएको छ । 
 

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  ११:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update