Sagun Khabar
बैतडीमा आधारभूत अस्पताल निर्माण अलपत्र : स्थानीय सरकार उदासीन,ठेकेदारको लापरवाही  

बैतडी –बैतडीका ९ ओटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि प्रक्रिया अघि बढेको भएपनि धेरै ठाउँमा अस्पताल निर्माण योजना अलपत्र परेको छ । दशरथचन्द नगरपालिका बाहेकका सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजना रहेको छ । सरकारले २०७७ साल मंसिरमा एकै पटक ३ सय बढी स्थानीय तहमा ५, १० र १५ शैय्याका अस्पताल शिलान्यास गरेको थियो । 

आधारभूत स्वास्थ्य सेवा गाउँघरमै पुर्याउने उद्देश्यसहित अस्पताल निर्माण गर्ने योजना बनाएको भएपनि अस्पताल निर्माणका योजना अलपत्र परेका छन् । बैतडीका केही तहमा अस्पताल निर्माणको काम समेत शुरु हुन सकेको छैन् भने निर्माणको काम शुरु भएका ठाउँमा समेत योजना अलपत्र पारिएका छन् । 

जिल्लाको मेलौली नगरपालिकामा जग्गा विवादका कारण अस्पताल निर्माणको प्रक्रिया नै शुरु हुन सकेको छैन् । अस्पताल निर्माणकै बिषयलाई लिएर वडा नं १ र ७ का बासिन्दाबीच मनमुटाव समेत भएको छ । गएको महिना अस्पताल निर्माणकै बिषयलाई लिएर दुवै पक्षबीच झडप समेत भएको थियो । 

Atrya hospital

बाँकी रहेका ८ ओटा स्थानीय तहमा पनि अस्पताल निर्माण कार्यले गति लिन सकेको छैन् । सुर्नया गाउँपालिकाको केन्द्र नजिक रहेको रौलेश्वर स्वास्थ्यचौकीसंग जोडिएको जमीनमा १० शैय्याको अस्पताल निर्माणका लागि जग खनिएको भएपनि काम शुरु हुन सकेको छैन् । निर्माण व्यवसायीले काम अघि नबढाउँदा स्वास्थ्यचौकीबाट प्रदान हुने सेवा समेत प्रभावित भइरहेको रौलेश्वर स्वास्थ्यचौकीका प्रमुख नरेश मडैले बताए । उनले भने ‘स्वास्थ्यचौकीसंगै जोडिएको भवनमा अस्पताल निर्माणका लागि जमीन खनिएको छ तर काम भने शुरु हुन सकेको छैन् । समयमा काम नहुँदा स्वास्थ्यचौकीमा पुग्ने सेवाग्राहीलाई समेत समस्या भएको छ ।’

पाटन नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण शुरु भएको दुई बर्ष हुनै लाग्दा समेत काम अघि बढ्न सकेको छैन् । सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भएपनि अस्पताल संरचनाको फिल्ड कटिङ र वाल मात्रै निर्माण भएको छ भने जग समेत बसेको छैन । निर्माण कम्पनीले २ करोड २० लाख रुपैया पेस्की बुझी सकेको छ । पछिल्लो समयमा ठेकेदार नै सम्पर्कविहिन रहेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । 

सिगास गाउँपालिकामा पनि १५ शैयाको अस्पताल निर्माण गर्ने भनिएको भएपनि प्रक्रिया अघि बढेको छैन । हालै डिपिआर सम्पन्न भएको र रिर्पाेट मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख घनश्यामसिंह बोहराले जानकारी दिए । १८ करोड लागतमा सिगास–८ मा अस्पताल बन्ने उनले बताए । 

जग्गा विवादका कारण अस्पताल निर्माण प्रक्रिया अघि नबढेको पञ्चेश्वर गाउँपालिकामा पनि गत वर्षदेखि आन्तरिक प्रक्रिया सुरु भएको छ । पञ्चेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ को आमचौरामा बन्ने १० शैयाको अस्पतालको लागि डिपिआर तयार पारिएको गाउँपालिकाले जनाएको छ ।  

जिल्लाको दोगडाकेदार गाउँपालिकामा भने अस्पताल निर्माणमा केही प्रगति भएको छ । गत वर्षदेखि निर्माण प्रक्रिया सुरु भएको र पहिलोतला ढलानको तयारी भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए । 

उता डिलाशैनी गाउँपालिकामा पनि अस्पताल निर्माणको काम शुरु हुन सकेको छैन् । डिलाशैनी स्वास्थ्यचौकीकै जमीनमा आधारभूत अस्पताल निर्माण गर्ने भनिएपनि काम भने शुरु हुन नसकेको डिलाशैनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम नाथले बताए । यस्तै शिवनाथ गाउँपालिकामा पनि अस्पताल निर्माणको काम शुरु हुन सकेको छैन् । 

पुर्चौंडी नगरपालिकाको वडा नं ३ न्वादेउमा १५ शैय्याको अस्पताल निर्माणको काम अगाडि बढेको नगरपालिकाका सूचना अधिकारी प्रविन धानुकले बताए । केही प्राविधिक त्रुटीका कारण काम ढिलो शुरु भएको उनको भनाइ छ । 

निर्माण कम्पनीको लापरवाही र स्थानीय सरकारको उदासिनताका कारण आधारभूत अस्पतालहरु निर्माणको काम सन्तोषजनक रुपमा अघि बढ्न नसकेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 
 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  ०९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update