Sagun Khabar
बुडाल मृत्यु प्रकरणः डेढ बर्षको टुहुरो थिए जीवन,अव परिवारै टुहुरो  

बैतडी- बैतडीमा मृत फेला परेका २५ बर्षीय जीवन बुडाल घरको एक्लो छोरा हुन । २६ वर्ष अगाडी श्रीमान गुमाएकी बुडालकी आमा जानकी बुडालले डेढ बर्षको टुहुरो छोरा हुर्काएकी थिइन ।

परिवारको एक्लो सहारा आफ्नो छोरा गुमाउदा आमा अझै पनि अचेत अवस्थामा छिन् । करिब  २८ बर्ष अगाडी आफ्नो सिंउदोको सिंदुर पुछिएकी जानकीले दुःख गरेर डेढ बर्षको टुहुरो छोरा हुर्काएकी थिईन । मृतक जिवनका ८ बर्षीय छोरी ६ बर्षीय छोरा  र श्रीमती यतिबेला साहारा  बिहिन बनेकाछन् ।

Atrya hospital

आफु जस्तै आफ्ना छोराछोरी लाइ पनि टुहुरा बनाएका छन् । आमाको जस्तै कलिलै उमेरमा श्रीमतीलाइ पनि विधुवा बनाएर गएका छन् ।  यतिवेला आमा श्रीमती र छोरा छोरीको अवस्था एकदमै काहालिलाग्दो छ ।

जिल्लाको दशरथचन्द नगरपालिका –१० खडेनी घर भएका बुडाल गएको शनिबार दशरथचन्द नगरपालिका–६ शेरामा मृत फेला परेका थिए । शनिबार बिहान ११ जना साथीहरुसंगै पिकनिक मनाउन गएका बुडाल शनिबार राति ९ बजे मृत फेला परेका थिए ।

बुडाल मृत फेला परेको ६ दिन भइसक्दा समेत आफन्तहरुले शव बुझ्न मानेका छैनन् । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला पिकनिक गएका हुन् । बुडालको हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेको छैन् ।

परिवारका तर्फबाट बुडालसंगै पिकनिक गएका ११ जना र जिप चालकसहित १२ जनाको नाममा किटानी जाहेरी परेको छ । जिल्ला अदालतबाट म्याद थपेर १२ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।

बुडालसँगै पिकनिक गएका गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, पुष्पराज भट्ट, अर्जुनसिंह रावल, टेकसिंह खत्री, श्यामुसिंह ऐरी, मोहनसिंह ठगुन्ना, नवीनसिंह ठगुन्ना, केशवसिंह रावल, दीपेन्द्रसिंह ऐरी, भिमसिंह ठगुन्ना र भुवनराम लुहारलाई नियन्त्रणमा लिएर अनुसन्धान भएरहेको प्रहरी निरीक्षक जोशीले बताए । मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबीनको माग गर्दै प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीलाई समेत ज्ञापन पत्र बुझाएका छन् । चौलानी नदीमा मृत फेला परेका बुडाल पौडी खेल्न समेत सिपालु थिए । तर कम पानी भएकै ठाउँमा बुडाल मृत फेला परेकाले परिवारजनले हत्याको आशंका गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, फागुन १८, २०७९  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update