काठमाडौं– भारत सरकारले नेपाललाई दुई सय वटा हेमोडायलासिस मेसिन सहयोग गरेको छ । मिर्गौला रोगका बिरामीको उपचारमा प्रयोग हुने सो मेसिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेर स्वास्थ्य मन्त्री पदम गिरीलाई हस्तान्तरण गरेका हुन् ।
दूतावासले पहिलो खेपमा आएको २० वटा मेसिन हस्तान्तरण गरेको हो । उसले बाँकी मेसिनहरु केही दिनै आइपुग्ने जानकारी दिएको छ ।
मेसिन हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको स्वास्थ्य सेवालाई सुदृढ बनाउन मेसिन सहितको सहयोग गरेको बताए ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पदम गिरीले भारत सरकारका तर्फबाट भएको सहयोगको प्रशंसा गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रमा भारतले अत्यावश्यक उपकरण, एम्बुलेन्सदेखि अन्य भौतिक पूर्वाधार निर्माणमा समेत सहयोग गर्दै आएको भन्दै दुई देशबीचको असल छिमेकीको सम्बन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे ।
करिब एक वर्ष अघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा भारतले दुई सय वटा डायालसिस मेसिन सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुसार मेसिन सहयोग गरेको भारतीय राजदूताबासले जनाएको छ ।