काठमाण्डौं –प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिको चुनावपछि भारत भ्रमणमा जाने भएका छन् ।
पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डको भारत भ्रमण यही फ्रेबुअरीमा हुने गरी तयारी चलिरहेको थियो । तर, राष्ट्रपतिको चुनावलगायतका विषयले उनको भ्रमण पर धकेलिएको स्रोतले जनाएको छ ।
नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भारत भ्रमणको विषयमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेको भारतीय दूतावास स्रोतले जनाएको छ ।
प्रचण्डसँग क्वात्राले सोमबार भेटवार्ता गरेका थिए । स्रोतले भन्यो, ‘विदेश सचिवले भारत भ्रमणको विषयमा निम्तो दिएका छन् । तर अहिले नेपालको राजनीतिक अवस्था ठिक नभएको कारण मिति तय भएको छैन ।’
स्रोतका अनुसार अहिले नै भारत भ्रमण गराउन सम्भव नहुने देखिएसँगै राष्ट्रपतिको चुनावपछि मात्र हुने गरी आन्तरिक तयारी थालिएको छ ।