Sagun Khabar
सुदूरपश्चिममा सरकारको नीति तथा कार्यक्रम पारित
स्वास्थ्य सन्देश
Atrya hospital

धनगढी  –  सुदूरपश्चिम प्रदेश सरकारको ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । सुदूरपश्चिम प्रदेश सभाको आइतबार बसेको बैठकले आगामी आर्थिक वर्षका लागि ल्याइएको नीति तथा कार्यक्रम पारित भएको हो ।

सभामुख अर्जुनबहादुर थापाले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गर्नुअघि मुख्यमन्त्री त्रिलोचन भट्टले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । यसअघि आइतबार बिहान एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो । गत बिहीबार प्रदेश प्रमुख गंगाप्रसाद यादवले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सुदूरपश्चिम प्रदेशमा एमाले माधव नेपाल पक्ष र माओवादी केन्द्रको सयुक्त सरकार छ । प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेसले पनि पछिल्लो समय प्रदेश सभामा सरकारलाई मौन समर्थन गर्दै आएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै प्रदेश सरकारलाई आगामी आर्थिक वर्षको बजेट ल्याउने बाटो खुला भएको छ । प्रदेश सरकारहरूले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३०, २०७८  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update