जाजरकोट –जाजरकोटमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ९ जनाको घटनास्थलमै र घाईते २ जनाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउ कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको बलेरो जिप मध्यपहाडी राजमार्गबाट दुई सय मिटर तल खसेको छ । जिप दशेराको जेवाबाट लेवा जाँदै थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा छेडागाड नगरपालिका ६ थाना जाजरकोटका विरबहादुर खत्री, छेडागाड ५ लेवाका जयबहादुर बुढा, नैनसरा अधिकारी, रामबहादुर बुढा, देवीसरा बुढा, अम्मर अधिकारी, निशा अधिकारी र दीपक अधिकारी छन् । त्यस्तै गाडी चालक भगवति गाँउपालिका २ रुम दैलेख निवासी मानबहादुर रावत, भगवतिमाई गाँउपालिका ३ दैलेखका विरेन्द्र केसी र अमरबहादुर खड्काको मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अम्मर र बालिका निशाको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।
दुर्घटनामा परेका जैवान अधिकारीको अवस्था गम्भीर छ । उनको थप उपचारका लागि सुर्खेत पठाईएको छ ।
जिप दैलेख भगवतिमाई गाँउपालिका ३ बाट विरेन्द्र खड्का र छेडागाड ५लेवाकी सम्झना बिसीको बिहेमा दुलही लिन जाजरकोटको दशेरा आएको थियो । विवाह भोजमा सहभागी भएका एक जना जन्ती बिरामी परेपछि उपचारका लागि थलह बजार लैजानेक्रममा दुर्घटना भएको स्थानीय प्रेम रावतले बताए ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको जाजरकोटका निमित्त प्रमुख जिल्ला अधिकारी जनकप्रसाद भण्डारीले बताए ।