बैतडी –बैतडीमा पछिल्लो समयमा नसर्ने रोगको जोखिम बढ्दै गएको छ । बैतडीमा नसर्ने रोगको परीक्षण अभियान सञ्चालनका क्रममा १० प्रतिशतभन्दा बढी व्यक्तिमा उच्च रक्तचापको समस्या देखिएको छ ।
स्वास्थ्य कार्यालय बैतडीले जिल्लाको शिवनाथ गाउँपालिकाका बाहेकका अन्य ९ ओटा स्थानीय तहका १३ हजार ५३१ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । उक्त परीक्षणका क्रममा १ हजार ४ सय १० जनामा उच्च रक्तचापको समस्या देखिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
नसर्ने रोगको परीक्षण अभियान अन्तर्गत ८ हजार १८४ जना महिला र ५ हजार ३४७ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको थियो ।
स्वास्थ्य कार्यालय बैतडीले शनिबार सञ्चारकर्मीहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा परीक्षण गरिएका ५ सय २७ जनामा मधुमेहको समस्या देखिएको जानकारी दिएको छ ।
यसैगरी, ८२९ जनामा मोटोपन र ९७ जनामा मृगौला सम्बन्धी समस्या देखिएको सूचना अधिकारी कार्कीले बताए । गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएका ५०९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ भने विभिन्न रोग पहिचान भएका एक हजार २३० जनाले उपचार सेवा प्राप्त गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै जिल्लाभरीका १ सय १३ जना बालबालिकाहरुमा कडा खालको कुपोषण भेटिएको छ । गएको वैशाखमा सञ्चालन गरिएको पोषण लेखाजोखा अभियान अन्तर्गत १० हजार १०३ जना बालबालिकाहरुको परीक्षण गरिएको थियो । ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाहरुको पोषण लेखाजोखा गर्दा ५ सय १६ जना बालबालिकाहरुमा मध्यम खालको कुपोषण देखिएको सूचना अधिकारी कार्कीले बताए । कडा कुपोषण देखिएका बालबालिकाहरुको ओटीसी सेन्टरमा उपचार गर्ने गरिएको उनले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले जिल्लामा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था तथा सरोकारवालासँग सहकार्य र समन्वय गर्दै विभिन्न कार्यक्रम सञ्चालनमा रहेका बताए । नसर्ने रोगको चुनौती बढेको बताउँदै उनले स्वास्थ्य सचेतनाका कार्यक्रममा सञ्चार जगतको महत्वपूर्ण भूमिका रहेको बताए । उनले स्वास्थ्यका सूचकाङ्कमा सुधार हुनु मात्र पर्याप्त नभई नागरिकले सहज, गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा पाउने सुनिश्चितता गर्नु कार्यालयको मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।
कार्यक्रममा जिल्ला अस्पताल बैतडीका प्रमुख डा. अरविन्द जोशीले खानपान लगायतका कारणले नसर्ने रोगको जोखिम बढीरहेको बताए ।





