धनगढी– बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा उनी पक्राउ परेका हुन्।
विद्यार्थी नेता चेतनको हत्या आरोपमा अहिलेसम्म तीन जना प्रहरीको नियन्त्रणमा छन्। एक जनालाई सोधपुछपछि छोडिएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। असोज ४ गतेको प्रदेश र प्रतिनिधि सभा सदस्यको मतदानका क्रममा जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ को नाटेश्वरी आधारभुत बिद्यालयमा विवाद भएको थियो।
प्रहरीको गाली लागेर सञ्जिव अयडीको मृत्यु भएको थियो भने विद्यार्थी नेता चेतनको कुटपिटबाट मृत्यु भएको थियो। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुका केन्द्रिय सदस्य चेतनको काँग्रेसका कार्यकर्ताले कुटपिट गरेको आरोप एमालेको छ।